• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भारत–पाकिस्तान हात हालाहालको स्थिति नबढोस् भनेर हामीले पनि आग्रह गरेका थियौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत–पाकिस्तानबीचको हालैको तनावको विषयमा प्रतिक्रिया दिँदै, सम्भावित लडाइँ टरेकोमा सन्तोष व्यक्त गरेका छन्। साथै, उनले तनावको स्थितिमा संयमता अपनाएको भन्दै दुबै देशलाई धन्यवाद दिएका छन्।

लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्तीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा शान्ति र संयमको सन्देश फैलाउन बुद्धको शिक्षाले आज पनि उत्तिकै महत्त्व राख्ने बताए।

‘केही दिनअघि छिमेकी देशहरू भारत र पाकिस्तानबीच झन्डै झन्डै हात हालाहालको स्थिति आएको थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर त्यो स्थिति बढ्न पाएन, त्यसका लागि संयमता देखाएकोमा दुबै देशलाई धन्यवाद दिन चाहन्छु।’

उनले नेपालले सुरुदेखि नै स्थिति बिग्रन नदिन आग्रह गरेको स्मरण गर्दै भने, ‘हामीले भन्यौँ— यो स्थिति विस्तार हुन नपाओस्, लडाइँमा परिणत नहोस्। त्यसअनुसार उहाँहरूसँग कुरा पनि गर्यौँ। ’प्रधानमन्त्रीले हालैको अवस्था केही खसखस र आरोप–प्रत्यारोपमा सीमित रहनुले पनि ठुलो टकराव रोकिएको संकेत दिएको बताए। साथै, उनले बुद्धको शान्तिको सन्देश अहिले पनि विश्वका लागि सान्दर्भिक रहेको उल्लेख गरे।