
काठमाडौँ । भारत र पाकिस्तानबीच हालै भएको चार दिनको सैन्य झडपपछि जारी तनावका कारण एयर इन्डियाले मङ्गलबारका लागि केही उडानहरू रद्द गरेको छ।
दुई देशबीच १० मेमा युद्धविरामको सहमति भए पनि सीमावर्ती क्षेत्रमा अवस्था अझै संवेदनशील रहेकाले भारतका प्रमुख विमान सेवा प्रदायक कम्पनीहरूले सतर्कता अपनाउँदै उडानहरू स्थगित गरेका हुन्।
एयर इन्डिया र इन्डिगोले मङ्गलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलहरूबाट हुने उडानहरू रद्द गरिएको जानकारी दिएका छन्। एयर इन्डियाले आफ्नो एक्स (पूर्व ट्विटर) खातामा लेखेको छ, “हालको सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै १३ मे मङ्गलबार जम्मु, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ़ र राजकोटबाट हुने सबै उडानहरू रद्द गरिएको जानकारी गराउँछौं।”
इन्डिगोले पनि जम्मु, अमृतसर, चण्डीगढ़, लेह, श्रीनगर र राजकोटबाट हुने उडानहरू मङ्गलबारका लागि रद्द गरिएको जनाएको छ।दुवै एयरलाइन्सले यात्रुहरूलाई आवश्यक जानकारी वा उडान परिवर्तनको लागि आफ्ना वेबसाइट वा ग्राहक सेवा केन्द्रमार्फत सम्पर्क गर्न अनुरोध गरेका छन्।
यसैबीच, भारतीय सेनाले सोमबार जम्मु कश्मीरको साम्बा क्षेत्रमा संदिग्ध ड्रोन देखिएको दाबी गरेको छ, जसले सीमावर्ती क्षेत्रमा अझै पनि सुरक्षा जोखिम कायमै रहेको संकेत गर्छ। यात्रुहरूलाई ट्राभल एड्भाइजरीको पालना गर्दै उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ।