• २०८३ जेठ २२
  • 2026 June 05, Friday

युद्धविरामपछि पनि भारत-पाकिस्तानबीच कूटनीतिक तनाव कायमै

काठमाडौं । । भारत र पाकिस्तानबीच पछिल्ला दिनहरूमा बढ्दै गएको कूटनीतिक तनाव झनै चुलिएको छ। मंगलबार अबेर राति पाकिस्तानले भारतविरुद्ध कडा प्रतिक्रिया जनाउँदै इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई ‘पर्सोना नन ग्राटा’ अर्थात् अवाञ्छित व्यक्ति घोषणा गरेको छ।

यसअघि सोही दिन भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका एक कर्मचारीलाई अवाञ्छित व्यक्ति घोषणा गर्दै २४ घण्टाभित्र देश छाड्न निर्देशन दिएको थियो। भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सो निर्णय सार्वजनिक गरिएको हो।

भारतको निर्णयको जवाफस्वरूप पाकिस्तानको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै भन्यो, “पाकिस्तान सरकारले इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गर्दै उनलाई २४ घण्टाभित्र पाकिस्तान छाड्न निर्देशन दिएको छ।”

पछिल्लो समय जम्मु–कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत–पाकिस्तान सम्बन्ध तनावपूर्ण बनेको हो। आक्रमणपछि दुवै देशले एकअर्कामाथि आरोप–प्रत्यारोप मात्र गरेनन्, प्रत्यक्ष रूपमा आक्रमण र हवाई क्षेत्र बन्दजस्ता कठोर कदमसमेत चाले। तर, मे ७ मा सुरु भएको सैन्य द्वन्द्व मे १० को साँझ दुबै पक्षले युद्धविराम घोषणा गर्दै स्थायित्वको संकेत दिएका छन्।