
काठमाडौं । संघीय सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले स्विजरल्याण्डको Swiss Tropical and Public Health Institute (Swiss TPH) मा दुई दिने औपचारिक भ्रमण सम्पन्न गरेका छन्।
मे ६ र ७ तारिखमा सम्पन्न भ्रमणमा उनले शोधकर्ता, विद्यार्थी र शिक्षकमाझ अन्तर्राष्ट्रिय स्वास्थ्य चुनौती र समाधानका विषयमा गहन छलफल गरेका थिए।
थापाले Swiss TPH का प्रो. डा. गुन्टर फिङ्क, डा. जोर्डिन वालेनबोर्न र सुश्री क्यारेम फिङ्कसँग भेट गर्दै बाल पोषण, सार्वभौमिक स्वास्थ्य सेवा, र निम्न आय भएका देशहरूमा स्वास्थ्य सुधारको सम्भावनाका बारेमा विचार विमर्श गरेका थिए।
प्रो. फिङ्कले दुईदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाको पोषणमा तत्काल नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका थिए भने डा. वालेनबोर्नले स्तनपान प्रवर्द्धनमा नगद सहायता कार्यक्रमको सकारात्मक प्रभावबारे आफ्ना अनुसन्धान प्रस्तुत गरिन्।
मे ७ मा थापा “Advancing Universal Health Care and International Partnerships Despite Uncertainties in Global Health: A Political Perspective from Nepal” विषयक छलफलमा सहभागी भए। उनले नेपालको स्वास्थ्य सुधारमा राजनीतिक नेतृत्वको स्थायीत्व, पारदर्शिता र जवाफदेहिताको महत्त्व उल्लेख गरे। ‘स्वास्थ्य नीति निर्माणमा राजनीतिक नेतृत्वको भूमिका हटाएर प्रणाली समावेशी बन्न सक्दैन,’ उनले भने।
स्वास्थ्य नीतिका सल्लाहकार सुदीप पोखरेलले उत्तर–दक्षिण साझेदारीमा स्थानीय सन्दर्भ र संस्कृति बुझ्नुपर्नेमा जोड दिए। छलफल Swiss TPH का अमित अर्यालले सञ्चालन गरेका थिए।
थापाको भ्रमणले Swiss TPH र नेपाली अनुसन्धान संस्थाबीच सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। सार्वभौमिक स्वास्थ्य पहुँच र बाल पोषणमा नीति निर्माण स्तरमै अन्तर्राष्ट्रिय समझदारी आवश्यक रहेकोमा सबै सहभागी एकमत देखिए।