• २०८३ असार ९
  • 2026 June 23, Tuesday

मन्त्री यादव : वीरगञ्जको परवानीपुरदेखि पटेलनगरसम्म जल निकासी प्रणालीमा सुधार हुने

काठमाडौ । खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्ज महानगरपालिका–१८ सुप्चैना र वडा नम्बर २१ परवानीपुर क्षेत्रमा जल निकासी प्रणालीमा अब सुधार आउने बताएका छन्।

आइतबार वीरगन्ज महानगरपालिका–२१ अन्तर्गत परवानीपुरदेखि पटेलनगरसम्मको सडकखण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री यादवले उक्त निर्माण सम्पन्न भएपछि वर्षातको समयमा हुने पानी जम्ने समस्या समाधान हुने र यातायात सञ्चालनमा सहजता आउने बताएका हुन्।

उनले भने, “नाला तथा ढलान निर्माणपछि जल निकासी प्रणालीमा सुधार हुनेछ र सडक पनि व्यवस्थित हुनेछ। विकास निर्माणमा सबै पक्षको सहकार्य अत्यावश्यक छ।”

यो योजना एक करोड ७२ लाख रुपैयाँको लागतमा सञ्चालित हुने जनाइएको छ। वीरगन्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारका अनुसार, महानगरको वडा नम्बर १८ सुप्चैना र वडा नम्बर २१ परवानीपुरसम्म कुल १,२५६ मिटर लम्बाइको नाला तथा ढल निर्माण गरिनेछ।