नेपाललाई यूएईले दियो ११५ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको एसियाली क्षेत्र छनोटको सुपर–३ चरणअन्तर्गत यूएईले नेपाललाई ११५ रनको चुनौती प्रस्तुत गरेको छ।

थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा आज भएको खेलमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङ रोजेकी थिइन्। पहिलो ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो।

यूएईका लागि ओपनर इशा ओझाले ३९ बलमा २ चौका र १ छक्काको मद्दतले ३९ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरिन्। अर्की ओपनर तीर्थ सतीशले ३२ बलमा २१ रनको योगदान दिइन्। नेपालको बलिङतर्फ मनिषा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिइन्।

यस खेलमा जित हासिल गर्न सकेमा नेपालले टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाउनेछ। प्रतियोगिताकी आयोजक थाइल्यान्ड भने सुपर–३ चरणको एक खेल बाँकी हुँदा–नहुँदै नै ग्लोबल छनोटमा स्थान बनाइसकेको छ।आइतबारको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो। समूह चरणमा नेपाल समूह ‘सी’, थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता बनेका थिए।

सुपर–३ चरणमा सहभागी तीन टिम (नेपाल, थाइल्यान्ड र यूएई) एक–अर्काविरुद्ध एक खेल खेल्नेछन्। शीर्ष दुई स्थानमा रहने टिमले आगामी टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ।नेपालले अब सुपर–३ अन्तर्गत दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ। विश्वकप ग्लोबल छनोटमा कुल १० टिम सहभागी हुने छन्। हालसम्म बंगलादेश, स्कटल्यान्ड र अमेरिका छनोट भइसकेका टिम हुन्। बाँकी स्थानका लागि प्रतिस्पर्धा जारी छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१