• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

भाजपा नेता जोलीको दाबी: “नेपालका ८१ प्रतिशत जनताले हिन्दु राष्ट्र चाहन्छन्”

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता विजय जोलीले नेपाली जनतामा हिन्दु राष्ट्रप्रतिको भावना गहिरो रहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालका ८१.२ प्रतिशत हिन्दु जनताले हिन्दु राष्ट्रको चाहना राखेको दाबी गरे र यदि नेपालले त्यस दिशामा अघि बढ्ने हो भने आफू त्यसका पक्षमा रहने बताएका छन्।

इन्स्टिच्युट फर पब्लिक पोलिसी एन्ड पार्टनरसिपको निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा रहेका जोलीले राष्ट्रपति रामचन्द्र पौडेलसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट गरेका छन्। भ्रमणको क्रममा नेपाली जनताको भावना बुझ्न पाएको भन्दै उनले नेपाली जनताको मुख्य भावना अनुसार चल्दा देशको लोकतन्त्र अझ बलियो बन्ने बताएका छन्।

नेता जोलीले प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ मा चितवनमा दिएको राम जन्मसम्बन्धी अभिव्यक्तिलाई स्मरण गर्दै नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्ध निकै सशक्त रहेको बताए। उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पनि हिन्दु राष्ट्रसम्बन्धी अभिव्यक्ति दिइसकेको उल्लेख गर्दै नेपाली दलहरूले जनभावनालाई ध्यानमा राख्दै पुनर्विचार गर्नु आवश्यक रहेको सुझाव दिए।

नेपाल–भारत सम्बन्धको चर्चा गर्दै जोलीले भूकम्पलगायतका आपतकालीन अवस्थामा भारतले सहयोग गरेको र नेपालले पनि भारतलाई संकटमा साथ दिएको उल्लेख गरे। पहलगाम आतङ्कवादी आक्रमणपछि नेपालले भारतप्रति देखाएको समर्थन र तत्कालीन प्रधानमन्त्री ओलीले १२ घण्टाभित्र भारतीय प्रधानमन्त्री मोदीलाई फोन गरेको घटनालाई पनि उनले सकारात्मक रूपमा स्मरण गरे।

अयोध्यामा राम मन्दिर बनेपछि भएको आर्थिक विकास नेपालमा पनि सम्भव हुने बताएका जोलीले सांस्कृतिक पहिचानको सम्मान भए मात्र यस्तो विकास सम्भव हुने स्पष्ट पारे। आतङ्कवादप्रति कडा नीति आवश्यक भएको उल्लेख गर्दै उनले मोदी सरकारले पहलगाम हमला गर्नेहरूलाई लादेनको जस्तै अन्त्य गर्ने दाबी पनि गरे।

नेपालसँगको आत्मीय सम्बन्धप्रति जोड दिँदै जोलीले आफूले पछिल्लो २० वर्षमा २२ पटक नेपाल भ्रमण गरिसकेको र हरेकपटक यहाँको माटोको टिका लगाउँदै भावनात्मक सम्बन्ध अनुभव गर्ने बताएका छन्।