
राजसंस्थाको पुनर्स्थापनाको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जेठ १५ गतेदेखि आन्दोलनमा होमिने तयारीमा छ। आन्दोलनको पूर्वसन्ध्यामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले ४० वर्ष मुनिका युवा र विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने भएका छन्।
राप्रपाले जेठ १२ गते राजधानीको राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको कार्यक्रमलाई ‘अवस्था बदल्न व्यवस्था परिवर्तन किन ? युवासँग राप्रपा’ भन्ने नाम दिइएको छ। कार्यक्रममार्फत युवाहरूमा रहेको राप्रपाप्रति जिज्ञासा र अन्योल हटाउने प्रयास गरिने युवा विभाग प्रमुख प्रकाश रिमालले जनाए।
कार्यक्रममा राप्रपाको व्यवस्था परिवर्तनको अवधारणा, राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा उठाइएका तर्क, संघीयता खारेजीको आवश्यकता लगायत विषयमा अध्यक्ष लिङ्देन स्वयंले प्रत्यक्ष जवाफ दिनेछन्। साथै, आन्दोलनमा युवाको सहभागिता किन आवश्यक छ भन्ने बारेमा पनि स्पष्ट पारिनेछ।
राप्रपाको राजनीतिक, आर्थिक र सामाजिक एजेन्डाहरू र आन्दोलनपछिको कार्यदिशाबारे पनि छलफल हुनेछ। रिमालका अनुसार राप्रपाले केवल राजाको मुद्दा मात्र बोकेको होइन, जनजीवनसँग जोडिएका विषयमा पनि दृष्टिकोण स्पष्ट गर्न युवालाई लक्षित कार्यक्रम आयोजना गरिएको हो।
पुरानो पुस्ताको मात्र पार्टी हो भन्ने भ्रम चिर्न र राप्रपाप्रति नयाँ पुस्तालाई आकर्षित गर्न यो अन्तरक्रिया उपयोगी हुने विश्वास पार्टीले लिएको छ।
यसअघि राप्रपाले विभिन्न समुदाय र विज्ञ समूहसँग पनि संवाद गरिसकेको छ भने जेठ १५ को आन्दोलनलाई सफल बनाउन उपत्यकाभर कार्यकर्ता भेलाहरू र संयुक्त जनआन्दोलन समितिभित्र आवद्ध दलहरूसँग निरन्तर समन्वय भइरहेको छ।