हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तिल गाउँमा गएको बाढी र पहिरोको कारण पत्ता लगाउन काठमाडौंबाट सरकारी विज्ञ टोली हुम्ला पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोली आज बिहान सिमिकोट आइपुगेको हो। टोलीमा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट सौहाद्र जोशी र खानी तथा भूगर्भ विभागका जिओलोजिस्ट शिवकुमार बास्कोटा पनि छन्।
टोली आजै बाढी प्रभावित तिल गाउँतर्फ प्रस्थान गर्ने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए। मौसम खराबीका कारण मंगलबार नेपालगञ्जबाट आउन नसकेको टोली आज बिहान मात्र हुम्ला आइपुगेको हो।
जेठ १ गते राति अचानक आएको बाढीले तिल गाउँमा ठूलो क्षति पुर्याएको थियो। १८ परिवार विस्थापित भई हाल पालमुनि बसिरहेका छन्। प्रारम्भिक अनुमान अनुसार करिब ५,३०० मिटर उचाइमा रहेको दुई हिमपोखरीबाट एक्कासि बगेको पानीले बाढी ल्याएको हो।
स्थानीयहरूले आफैं पोखरीसम्म पुगेर बाढीको सम्भावित स्रोत पहिचान गरेका थिए, तर पानी कसरी निस्कियो भन्ने वैज्ञानिक कारण अझै प्रस्ट भइसकेको छैन। विज्ञ टोलीले त्यसैको वैज्ञानिक अध्ययन गरी यथार्थ पत्ता लगाउने अपेक्षा गरिएको छ।