• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

पाकिस्तानी गुप्तचर गतिविधिमा संलग्न भएको आरोपमा नेपाली नागरिक अन्सरुल मियाँ दिल्लीमा पक्राउ

भारतको राजधानी दिल्लीमा एक नेपाली नागरिकलाई पाकिस्तानी गुप्तचर संस्था ISI (आइएसआइ) सँग सम्बन्ध रहेको आरोपमा पक्राउ गरिएको भारतीय समाचार एजेन्सीहरूले जनाएका छन्।

सम्बन्धित एजेन्सी एएनआईका अनुसार, दिल्ली प्रहरीले हालै २१ जना आइएसआइ एजेन्ट पक्राउ गर्ने क्रममा अन्सरुल मियाँ अन्सारी नामक नेपाली नागरिकलाई पनि नियन्त्रणमा लिएको हो। हिन्दुस्तान टाइम्सले जनाएअनुसार, अन्सारीमाथि मे महिनामै अभियोग दायर भइसकेको छ र हाल उनलाई तिहाड जेलमा राखिएको छ।

प्रहरीको भनाइ अनुसार अन्सारीलाई दिल्लीको एक होटलबाट पक्राउ गरिएको थियो, र उनी पाकिस्तान जाने तयारीमा थिए। भारतीय मिडियाका अनुसार, अन्सारीले कतारमा क्याब चालकको रूपमा काम गर्ने क्रममा आइएसआइसँग सम्पर्कमा आएको बयान दिएका छन्।

रिपोर्टअनुसार, त्यसपछि उनलाई कतारबाट पाकिस्तान लगिएको र त्यहाँ आइएसआीका वरिष्ठ अधिकारीहरूसँग केही समय तालिम पनि दिइएको थियो। तालिमपछि उनलाई नेपालमार्ग हुँदै दिल्ली पठाइएको र गोप्य दस्तावेजहरू सिडीमार्फत पाकिस्तान पठाउन भनिएको दाबी गरिएको छ।

यस घटनाबारे हालसम्म नेपाल प्रहरीले कुनै जानकारी नभएको बताइएको छ।