नविन सोचसहितको पर्यटन नेपालको समृद्धिको बाटो बन्न सक्छ

नेपाल प्राकृतिक, सांस्कृतिक र मानव संसाधनले धनी मुलुक हो। यद्यपि, नेपालको विकासको गति अपेक्षाकृत सुस्त छ। हामीकहाँ सम्भावनाहरू प्रशस्त छन्, तर योजनाको कमी, कार्यान्वयनमा ढिलाइ, र दीर्घकालीन सोचको अभावका कारण ती सम्भावनाहरू विकासको इँट-पर्खाल बन्न सकेका छैनन्। हिमाल, पहाड, तराई, नदी, ताल, वन-जंगल र विविध जातजातिका परम्परा, भेषभूषा र संस्कृति– यी सबैले पर्यटनका लागि उत्कृष्ट आधार प्रदान गर्छन् । यद्यपि, आजसम्म हाम्रो पर्यटन मुख्यतः ट्रेकिङ, मठमन्दिर भ्रमण, साहसिक यात्रा वा तीर्थयात्रामै सीमित छ।

वेलनेस टुरिजम (Wellness Tourism)
आजको विश्वमा मानसिक तनाव, प्रदूषण र व्यस्त जीवनशैलीले मानिसहरू स्वास्थ्य सचेत बनेका छन्। नेपालजस्तो शुद्ध हावा-पानी, हरियाली, हिमाल र ध्यानयोगको परम्परा भएको देश वेलनेस टुरिजमका लागि उपयुक्त स्थान हो। भारतको केरलामा “आयुर्वेद टुरिजम” सफल भएको छ भने थाइल्याण्ड स्वास्थ्य र उपचार टुरिजमको गन्तव्य बनिसकेको छ। हामीले पनि हिमाली जडीबुटी, ध्यान, प्राकृतिक उपचार, योग, स्पा र स्वस्थ आहारलाई एकीकृत गर्दै विदेशीलाई नेपाल तान्न सकिन्छ।

हेल्थ टुरिजम (Medical Tourism)
नेपालमा अन्तर्राष्ट्रिय गुणस्तरका अस्पतालहरू, दक्ष चिकित्सकहरू र सहयोगी वातावरण सिर्जना गरेर स्वास्थ्य पर्यटनलाई बढावा दिन सकिन्छ। भारत र थाइल्याण्डजस्ता मुलुकहरू यही मोडेलमा आधारित भएर आर्थिक फाइदा कमाइरहेका छन्। यदि विदेशबाट बिरामी आउँछ भने साथमा उनका २–३ जना आफन्त पनि आउने सम्भावना हुन्छ, जसले होटल, यातायात, घुमफिर र अन्य सेवाको माग बढाउँछ।

शिक्षा क्षेत्र र एजुकेशनल टुरिजम
नेपालबाट प्रत्येक वर्ष हजारौं विद्यार्थी विदेश गइरहेका छन्। लाखौं डलर नेपालबाहिरको शैक्षिक संस्थानमा खर्च भइरहेको छ। यस्तै स्थिति रहिरह्यो भने नेपालको भविष्यका कुशल जनशक्ति बाहिरै स्थायी हुने खतरा रहन्छ।

नेपाललाई शिक्षाको केन्द्र बनाउने सम्भावना

हाम्रो देशको हावा-पानी, शान्त वातावरण र मूल्यमा सस्तो जीवनशैली विदेशी विद्यार्थीहरूलाई आकर्षित गर्न सक्ने शक्ति राख्छ। नेपालमै अन्तर्राष्ट्रिय स्तरका विद्यालय तथा विश्वविद्यालय स्थापना गरेर हामीले ‘एजुकेशनल टुरिजम’ को नयाँ युग सुरु गर्न सक्छौं। यसका लागि सरकारले नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण र गुणस्तरीय शिक्षा सुनिश्चित गर्नुपर्छ।

नेपालको शैक्षिक संस्थाहरूले विदेशी विश्वविद्यालयसँग सहकार्य गर्न सक्ने, अनलाइन/हाइब्रिड मोडेलमा पाठ्यक्रम चलाउन सक्ने, र अनुसन्धानमैत्री वातावरण सिर्जना गर्न सक्ने अवस्था आएमा यहाँ शिक्षाको वातावरण मात्र बलियो हुँदैन, आर्थिक रूपमा पनि देश समृद्ध हुन्छ।

कृषि: परनिर्भरता अन्त्य गर्ने मूल आधार

नेपालको अर्थतन्त्र अझै पनि कृषि प्रधान छ। तर, उत्पादन प्रणाली परम्परागत, बजार व्यवस्थापन कमजोर, र सरकारी अनुदान प्रणाली राजनीतिक रूपमा दुरुपयोग भइरहेकाले कृषि टिकाउ बन्न सकेको छैन।

कन्ट्र्याक्ट फार्मिङ र अर्ग्यानिक उत्पादन
विश्व अहिले अर्ग्यानिक उत्पादनको मागमा अघि बढिरहेको छ। नेपालले हाम्रा प्राकृतिक स्रोतसाधन प्रयोग गरेर अर्ग्यानिक तरकारी, फलफूल, चिया, कफी, जडीबुटी उत्पादन गर्न सक्छ। कन्ट्र्याक्ट फार्मिङमार्फत किसानलाई निश्चित मूल्य र बजार सुनिश्चित गरिदिने हो भने उत्पादनमा आत्मविश्वास बढ्छ।

त्यस्तै, कृषि क्षेत्रलाई पर्यटनसँग पनि जोड्न सकिन्छ। फार्म टुरिजमको अवधारणा– जहाँ पर्यटकहरू फार्ममै आएर बास बस्न, उत्पादन हेर्न, आफैं काम गर्न पाउँछन्– संसारका धेरै देशमा सफल हुँदैछ। यसले किसानलाई अतिरिक्त आम्दानी मात्र दिँदैन, नेपालप्रति विदेशीको लगाव पनि बढाउँछ।

सिनेमा टुरिजम र फिल्म इन्डस्ट्री
नेपालको सौन्दर्य, ऐतिहासिक भवनहरू, हिमाल, गाउँ र संस्कृतिले फिल्म छायांकनका लागि उपयुक्त वातावरण बनाउँछन्। विगतमा हलिउड, बलिउड तथा दक्षिण भारतीय फिल्महरूले नेपालमा छायांकन गरेका छन्।

फिल्म सिटी र सुटिङ इन्फ्रास्ट्रक्चर
सरकारले ठूला र सुन्दर लोकेसनमा आवश्यक पूर्वाधार तयार पारिदिएर नेपाललाई फिल्म सुटिङ गन्तव्य बनाउने हो भने सिनेमा टुरिजमको माध्यमबाट देशको नाम, आम्दानी र रोजगारी तीनवटै बढ्न सक्छ। चीन र कोरियामा यस्तै मोडेल सफल छन्।

त्यस्तै, नेपाली फिल्म क्षेत्रलाई पनि आत्मनिर्भर बनाउन लगानी, प्रविधि, प्रशिक्षण र बजार व्यवस्थापन आवश्यक छ। विदेशी फिल्मको नेपालमा छायांकनले हाम्रो स्थानीय प्रतिभा, गाइड, होटल व्यवसाय र पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पार्न सक्छ।

स्पोर्ट्स टुरिजमको अपार सम्भावना
नेपालको भौगोलिक विविधता (पहाड, समथर मैदान, नदी, लेक आदि) साहसिक खेलका लागि अत्यन्त उपयुक्त छ। ट्रेकिङ, प्याराग्लाइडिङ, राफ्टिङ, माउन्टेन बाइकिङ, स्कीइङ, आदि खेलहरू अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई स्थापित गर्न सक्छन्।

यदि सरकारले अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला, प्रशिक्षण केन्द्र र प्रतियोगिता आयोजना गर्ने वातावरण तयार पार्यो भने विदेशी टिमहरू अभ्यास र प्रतियोगिताका लागि नेपाल आउन सक्छन्। यसले नेपाललाई ‘स्पोर्ट्स टुरिजम’ को नयाँ गन्तव्य बनाउनेछ।

निजी क्षेत्र, सरकार र आर्थिक दृष्टिकोण
निजी क्षेत्र नेपालको आर्थिक विकासको मुख्य सहायक हो। यद्यपि, निजी क्षेत्रमाथि सरकारको अनावश्यक कर, अनुगमन र प्रक्रियात्मक झन्झटले उद्यमशीलता घटाउने काम गर्छ।

नेपाल राष्ट्र बैंकले अबको मौद्रिक नीतिमा व्यवसायमैत्री, उत्पादनमुखी र रोजगारी सिर्जना गर्न सक्ने नीतिहरू ल्याउनु आवश्यक छ। जब उद्यमीले घाटा बेहोर्छ, तब उसलाई व्यवसायबाट निकाल्ने होइन, सहकार्य गरेर अगाडि बढाउने नीति ल्याउनुपर्छ। ‘वन फेलियर इज नट फाइनल’ भन्ने सोच राखेर उद्यमीहरूलाई सशक्त बनाउनु आवश्यक छ।

राजनीति र व्यवसायको सहकार्य
राजनीति समाज रूपान्तरणको साधन हो भने व्यवसाय देश निर्माणको आर्थिक पाटो हो। दुवैबीचको समन्वयले मात्र दिगो विकास सम्भव हुन्छ। विश्वका धेरै मुलुकहरूमा व्यवसायिक पृष्ठभूमिका व्यक्ति राजनीतिमा सफल भएका छन्। उनीहरूको व्यवस्थापकीय सोच, निर्णय क्षमता र दुरदर्शिताले नीति निर्माणमा प्रभाव पार्न सक्छ।

नेपालमा पनि व्यवसायीहरूले पारदर्शिता, जवाफदेहिता र राष्ट्रवादी सोचका साथ राजनीतिमा योगदान दिन सक्छन्। राजनीति केवल भाषण र नाराले मात्र चल्दैन; यो कार्य, परिणाम र व्यवहारमा आधारित हुनुपर्छ।

– पूर्वराज्यमन्त्री तथा उद्योगी मोति दुगडसँगको कुराकानीको सम्पादित अंश

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१