• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

गृहमन्त्री लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले गरे संसद् अवरुद्ध

गृहमन्त्री रमेश लेखकमाथि गम्भीर आरोप लागेपछि संसदका विपक्षी दलहरूले उनको राजीनाको माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेका थिए।

सभामुख देवराज घिमिरेले कारबाही अगाडि बढाउने प्रयास गरे पनि सांसदहरू उठेर अवरोध गरेपछि उनले माओवादी केन्द्रका सांसद वर्षमान पुनलाई बोल्न दिए। पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसाको नाममा करोडौं रुपैयाँ असुलेर मानव तस्करी भएको गम्भीर आरोप सार्वजनिक रूपमा उठिरहेको उल्लेख गर्दै गृहमन्त्रीले निष्पक्ष छानबिनका लागि राजीनामा दिनुपर्ने बताएका थिए।

उनले गृहमन्त्रीको पदबाट राजीनामा नभएसम्म संसद् सञ्चालन हुन नसक्ने चेतावनीसमेत दिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि गृहमन्त्री पदमै रहँदा निष्पक्ष छानबिन असम्भव हुने भन्दै राजीनाको मागमा समर्थन जनाए।