
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र संघीयता विरोधी शक्ति सफल नहुने दाबी गरेका छन्। शहीद लखन गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गर्दै उनले यो संविधान सबै क्षेत्र र पहिचानलाई समेटेर बनेको उल्लेख गरेका छन् । संविधानको संरक्षणका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्ने भन्दै उनले जनताको समस्याको समाधान, सुशासन, सामाजिक न्याय र आर्थिक विकासमा ध्यान दिन जरुरी रहेको बताए।
प्रचण्डले हाल नेपालमा “केही छैन, केही हुँदैन” भन्ने निराशाजनक धारणा फैलँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले विशेष गरी युवा विदेशिने प्रवृत्तिलाई रोक्न देशभित्रकै स्रोत र सम्भावनाको अधिकतम उपयोग आवश्यक रहेको बताएका छन्। नेपाल सम्भावनायुक्त देश भएकाले युवाले निराश नभई आशाका साथ अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।
बूढीगण्डकी जलविद्युत आयोजना निर्माणबारे उनले आफू प्रधानमन्त्री हुँदा मोडालिटीको विषयमा छलफल भएको तर त्यसपछिका सरकारले ध्यान नदिएको गुनासो गरे।
गोरखा विकासमा आफू प्रधानमन्त्री रहँदा र अहिले प्रतिपक्षी नेताको हैसियतले निरन्तर लागिपरेको बताए। संघीयता कार्यान्वयन र स्थानीय तहलाई सशक्त बनाउन आफ्नो कार्यकालमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गराउन बैठकहरू आयोजना गरिएको स्मरण गरे। तर, प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा ती कामहरू अवरुद्ध भएको पनि उनले आरोप लगाए।
संविधानले दिएको अधिकार अझै पूर्ण रूपमा कार्यान्वयनमा नआएकोप्रति उनले चिन्ता प्रकट गरे। ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने अवधारणा आफूले ल्याए पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको बताए