प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा उत्पन्न विवादपछि सभापति किरणकुमार साह र नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कोसारीबीच सहमति भएको छ। समितिको बैठकमा सांसद मियाँको व्यक्तिगत जीवनबारे टिप्पणी गरेका सभापति साहको अभिव्यक्तिपछि मियाँले उनलाई नेमप्लेट र माइक प्रहार गरेकी थिइन्।
सभामुख देवराज घिमिरेले दुबैलाई संसद भवनको कार्यकक्षमा बोलाई आत्ममूल्यांकन गर्न आग्रह गर्दै छलफल गरेका थिए। छलफलपछि दुबै पक्षले गल्ती स्वीकार्दै भविष्यमा यस्ता घटनाहरू नदोहोऱ्याउने प्रतिबद्धता जनाएका छन्।
सभापति साहले दुबै पक्षबाट त्रुटि भएको स्वीकार गर्दै भने, “मैले पनि सभापतिको हैसियतमा केही आक्रोशित भएर बोलेँ, त्यो ठीक थिएन। उहाँले पनि प्रतिक्रिया दिने क्रममा अशोभनीय व्यवहार गर्नुभयो। तर हामी दुबै मिल्यौं।” सांसद मियाँले पनि सहमति भएको जनाउँदै भनिन्, “मैले पनि माइक प्रहार गर्नु गलत थियो, उहाँले पनि निजी विषय उठाउनु उपयुक्त थिएन। रिसको झोकमा भयो, अब कुनै रिसराग छैन।”
यसअघि, संसदीय बैठकमा साहले सांसद मियाँको निजी कुरा उठाएका थिए, जसले कुसारीलाई आक्रोशित बनाएको थियो। त्यसक्रममा उनले नेमप्लेट र माइक प्रहार गरेकी थिइन्, यद्यपि ती साहलाई लागेनन्। बैठकमा त्यतिबेला गण्डकी प्रदेशका वृद्धाश्रम र बालसुधार गृहको अनुगमन सम्बन्धी विषयमा छलफल भइरहेको थियो।
कांग्रेस सांसद सीता कुमारी रानाले अनुगमनको अव्यवस्थाबारे उजुरी गरेपछि साहले विषय परिवर्तन गर्दै पुरानो भ्रमणको प्रसंग उठाएका थिए। त्यसपछि सांसद कुसारीले आपत्ति जनाउँदै प्रतिवाद गरेकी थिइन्। सभापति साहले कुसारीको व्यवहारलाई अराजक भन्दै व्यक्तिगत जीवनका संवेदनशील विषय उठाउँदा विवाद चर्किएको हो।
सांसद कुसारीले साहमाथि संस्थागत अनुगमनमा पारदर्शिता नदेखाएको, आफ्ना छोरालाई सधैं अनुगमनमा लैजाने, एनजिओहरूसँग मिलेर अनुगमन भ्रमणको नाममा घुमफिर गर्ने आरोपसमेत लगाएकी छिन्। यद्यपि समितिका सचिवले सभापतिका छोरा आफ्नै खर्चमा अनुगमनमा सहभागी भएको बताएका छन्।
यस घटनापछि समिति बैठक तत्काल अन्त्य गरिएको थियो। दुबै पक्षबीच सहमति भएसँगै अब सम्बन्ध सुधारिएको जनाइएको छ।