• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

बालुवाटारमा कांग्रेस–एमालेबीचको छलफलमा गृहमन्त्रीको राजीनामाको चर्चा भएन, आज संसदमा दिनेछन् जवाफ

प्रधानमन्त्रीको उपस्थितिमा बालुवाटारमा सत्तारूढ नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच छलफल भएको छ। छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए।

प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले उठाएका मुद्दाहरूबारे सरकारको धारणा प्रस्ट पार्न गृहमन्त्री रमेश लेखकले बुधबार बैठकमा जवाफ दिने सहमति छलफलबाट बनेको एमाले प्रमुख सचेतक बर्तौलाले जानकारी दिए।

उनका अनुसार, “प्रतिनिधि सभा निर्धारित कार्यसूचीअनुसार अघि बढ्नुपर्छ, संविधान अनुसार भोलि सरकारले बजेट प्रस्तुत गर्नुपर्छ,” भन्दै सरकारको तर्फबाट गृहमन्त्रीले आजै प्रतिपक्षीहरूको प्रश्नमा प्रतिक्रिया दिने जानकारी दिए।

बर्तौलाले छलफलमा गृहमन्त्री लेखकको राजीनामाको विषय भने उठान नभएको बताए। भिजिट भिसा काण्डमा केही कर्मचारी संलग्न देखिए पनि त्यसका लागि गृहमन्त्रीले पद छोड्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

यसअघि माओवादी केन्द्रका सांसद वर्षमान पुन र रास्वपाका सांसद शिशिर खनालले मंगलबारको बैठकमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका थिए।

यद्यपि, मंगलबार स्थगित प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइए पनि तोकिएको समयमा बैठक सुरू हुन सकेको छैन।