• २०८३ असार ७
  • 2026 June 21, Sunday

आन्दोलनपछि राप्रपाका सांसद बजेट भाषणमा सहभागी हुने

काठमाडौं।  राजावादी समूहले बिहीबार शान्तिबाटिका क्षेत्रमा आयोजना गर्न लागेको आन्दोलनमा राप्रपाका सांसदहरू सीमित समयका लागि सहभागी हुने भएका छन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता पशुपति शमशेर राणा, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका नेताहरू आन्दोलनमा केहीबेर उपस्थिति जनाएर संघीय संसद्को बैठकमा सहभागी हुने तयारीमा छन्।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आन्दोलन र संसद् दुवैमा सहभागिता जनाउने बताए। “हाम्रो सहभागिता वरिपरि नै रहन्छ,” शाहीले भने, “आन्दोलनमा केहीबेर सहभागी भएर बजेट भाषण पनि सुन्न जान्छौं।”

राजावादी समूहको आन्दोलन बिहीबार दिउँसो २ बजेदेखि सुरु हुने छ भने संघीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजे बोलाइएको छ, जहाँ आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण गरिनेछ। यही कारणले राप्रपाका सांसदहरू आन्दोलनबाट संसद् बैठकमा सिधै जान लागेका हुन्।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार, संसदमा रहेका नेताहरू ३ बजेसम्म आन्दोलनमा सहभागी हुनेछन् भने त्यसपछि संसद्को बैठकतर्फ लाग्नेछन्। आन्दोलनमा सांसदबाहेकका नेताहरू भने निरन्तर सहभागी रहने उनको भनाइ छ।

राजसंस्था पुनर्स्थापना, हिन्दुराष्ट्र घोषणा, संघीयताको खारेजी र भ्रष्टाचार अन्त्यजस्ता मागसहित ‘संयुक्त जनआन्दोलन समिति’को अगुवाइमा राजावादी समूहले बिहीबारदेखि आन्दोलन सुरु गरेका हुन्। समितिमा राप्रपा, राप्रपा नेपाल तथा अन्य हिन्दुवादी र राजावादी संगठनहरूको सहभागिता रहेको राप्रपाका प्रवक्ता सगुन लावतीले जानकारी दिए।