काठमाडौं। नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा पूर्वसांसद गणेशबहादुर खड्काको निधन भएको छ। कांग्रेस दैलेखका पूर्वसभापति समेत रहेका खड्काको निधनको जानकारी कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दिएका हुन्।
उपसभापति खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्री तथा आफन्तसमेत रहेका गणेशबहादुर खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले खड्काको निधनले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्।
गणेशबहादुर खड्का २०२५ सालदेखि नेपाली राजनीतिमा सक्रिय थिए। २०२७ देखि २०३० सम्म कांग्रेस दैलेखको जिल्ला उपसभापति र त्यसपछि २०३३ देखि २०४८ सम्म जिल्ला सभापति रहेका थिए।
प्रतिनिधिसभा सदस्यको रूपमा उनी २०४८, २०५१ र २०६४ सालको निर्वाचनमा विजयी भएका थिए। उनले भौतिक योजना तथा निर्माण मन्त्रालय र यातायात मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका थिए।