काठमाडौं। २०६२/६३ को जनआन्दोलनपछि, २०६५ सालको जेठ १५ गते नेपाल ऐतिहासिक परिवर्तनको साक्षी बन्यो। संविधानसभाको पहिलो बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा घोषणा गर्यो। यो परिवर्तनले नेपाली जनताको भाग्य र भविष्यको नयाँ युगको सुरुआत गर्यो।
गणतन्त्रको स्थापनासँगै नेपाली जनताले राजनीतिक अधिकारका साथसाथै सामाजिक, शैक्षिक, स्वास्थ्य, कृषि र प्रविधिका क्षेत्रमा उल्लेखनीय परिवर्तनको अनुभूति गर्न थालेका छन्। विद्युत्, सडक, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा व्यापक विस्तार भएको छ। उदाहरणका लागि, अहिले देशको ९७ प्रतिशत जनसंख्यामा विद्युत् पुगेको छ, प्रतिव्यक्ति आय १,५५६ अमेरिकी डलर पुगेको छ र औसत आयु ७२ वर्ष नाघेको छ। दक्षिण एशियामा नेपाल पूर्ण खोपयुक्त मुलुक बनेको छ।
२०५१ सालमा नेकपा (एमाले) सरकारद्वारा सुरु गरिएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ अभियानले गाउँगाउँमा राज्यको पहुँच र जनसहभागितामा विकासको जग बिछ्याएको थियो। हाल मुलुकमा हजारौं किलोमिटर सडक विस्तार, नयाँ विश्वविद्यालय र अस्पतालहरूको स्थापना, विद्युत् उत्पादनको वृद्धिले देश विकासको बाटोमा अग्रसर छ।
सूचना प्रविधिको क्षेत्रमा समेत नेपालले उल्लेखनीय प्रगति गरेको छ। ‘फोर जी’ सेवा लगभग सम्पूर्ण भूभागमा फैलिएको छ भने ‘फाइभ जी’ सेवा प्रमुख शहरहरूमा विस्तार हुँदैछ। अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मानव अधिकारको प्रत्याभूतिको दृष्टिले नेपाल दक्षिण एशियामा उदाहरणीय बन्दै गएको छ।
यद्यपि, राजनीतिक अस्थिरताले नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा बाधा पुर्याइरहेको छ। भ्रष्टाचार, ढिलासुस्ती र जवाफदेहीताको अभावले विकासका प्रयासमा अवरोध आएको छ। स्थायित्वको अभावले जनतामा निराशा बढाएको छ, जसको फाइदा उठाउँदै केही प्रतिगामी शक्तिहरू एकदलीय शासन प्रणाली फर्काउने प्रयासमा छन्।
विशेषगरी, युवापुस्ताले विगतको संघर्ष र परिवर्तनको इतिहासप्रति सीमित ज्ञान राख्दा वर्तमान समस्याहरूलाई मात्रै मूल्याङ्कन गर्ने प्रवृत्तिले प्रतिगामी विचारले ठाउँ पाउँदैछ। त्यसैले लोकतान्त्रिक शक्तिहरूले नयाँ पुस्तालाई गणतन्त्रको मर्म र ऐतिहासिक महत्वबारे सचेत गराउँदै, लोकतान्त्रिक अभ्यासमा उनीहरूलाई सक्रिय सहभागी बनाउनु आवश्यक छ।
आज गणतन्त्रले देशमा जनताको शासन स्थापना मात्र होइन, समृद्धिको सम्भावना पनि दिएको छ। तर, भौतिक विकास मात्र पर्याप्त छैन—समान अवसर, सामाजिक न्याय र जीवनस्तरको सुधार बिना गणतन्त्रको मर्म अधुरो रहन्छ। नेतृत्व वर्गले आफ्ना व्यवहार, सोच र कार्यशैलीलाई जनअपेक्षा अनुसार परिवर्तन गर्न नसके गणतन्त्र जनताका लागि निराशाको कारण बन्न सक्छ।
गणतन्त्र लोकतन्त्रको उन्नत रूप हो— यसको विकल्प राजतन्त्र होइन, समाजवादको विकल्प सामन्तवाद हुन सक्दैन। स्थिर राजनीति, उत्पादनमुखी अर्थनीति, प्रभावकारी सामाजिक सुरक्षा र सुशासनमार्फत मात्र गणतन्त्रलाई जनताको साझा जीवनपद्धतिमा रूपान्तरण गर्न सकिन्छ। यही बाटोबाट मात्रै देशले स्थायित्व, समृद्धि र सुदृढ लोकतन्त्रको गन्तव्य भेट्टाउन सक्छ।