• २०८३ असार ७
  • 2026 June 21, Sunday

राजावादीको आन्दोलनमा अवरोध गर्न खोजिएको राप्रपाको दाबी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानीमा सुरु भएको राजावादी आन्दोलनमा सहभागी हुन आउनेहरूलाई आवागमनमा अवरोध गरिएको आरोप लगाएको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले नौबिसे हुँदै काठमाडौं प्रवेश गरिरहेका राजसंस्था समर्थकहरूलाई सुरक्षाकर्मीहरूले रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवतजावतमा अवरोध गर्ने काम भएको दाबी गरेका हुन्।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत भने, “राजसंस्था पक्षधरहरूको आन्दोलनमा सहभागी हुन विभिन्न भूभागबाट काठमाडौं आउँदै गरेका राष्ट्रवादी नागरिकलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा पुर्‍याएको जानकारी आएको छ। यस्तो कार्य नगर्न र आन्दोलनमा सहज वातावरण बनाउन प्रशासनको ध्यानाकर्षण गराउँछौं।”

राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध आन्दोलन सुरु गरेका छन्। उनीहरू संघीयता खारेज, राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र घोषणालगायत माग राख्दै प्रदर्शनमा उत्रिएका हुन्।

यसैबीच, काठमाडौं आउँदै गरेको एक बस सडक दुर्घटनामा परेपछि नागढुंगा–नौबिसे सडकखण्ड केही समय अवरुद्ध भएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस आज बिहान करिब पौने ३ बजेतिर सडकको नालीमा खस्दा सवारी आवागमनमा अस्थायी अवरोध सिर्जना भएको हो।