काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले राप्रपाको नेतृत्वमा हुन लागेको जनआन्दोलनमा आफूहरू सहभागी नभएको स्पष्ट पार्दै त्यसप्रति दूरी कायम राख्ने निर्णय गरेको छ।
महाअभियानले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, अध्यक्ष दुर्गा प्रसाईलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको विरोधमा जेठ १२ गतेदेखि सुरु गरिएको सत्याग्रह आन्दोलनलाई शान्तिपूर्ण रूपमा अघि बढाइएको थियो। तर राप्रपाको आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै जेठ १५ को आन्दोलन स्थगित गरिएको बताइएको छ।
विज्ञप्तिमा अझ भनिएको छ, राप्रपाको आन्दोलनमा महाअभियान संलग्न नभएकाले त्यसमा घट्न सक्ने कुनै पनि घटनाको जिम्मेवारी महाअभियानले लिने छैन। सहभागी नहुन सबैमा अनुरोधसमेत गरिएको छ।
महाअभियानले अध्यक्ष दुर्गा प्रसाईको रिहाइको मागसहितको सत्याग्रह आन्दोलन जेठ १६ गतेदेखि पुनः निरन्तर रूपमा माइतीघर मण्डलामा सञ्चालन गरिने जानकारी गराएको छ।
सचिव प्रेमदीप लिम्बुद्वारा जारी विज्ञप्तिमा राष्ट्र र नागरिकका पक्षमा संघर्ष जारी राख्ने प्रतिबद्धता दोहोर्याइएको छ।