काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष गंगानारायण श्रेष्ठसहित १५ नेतालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा शुक्रबार बिहान बसेको बैठकले हालै पार्टी एकता भएको नेसपाका थप करिब २० नेतालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय पनि गरेको हो ।
उपमहासचिव जनार्दन शर्माका अनुसार एकतासँगै माओवादी केन्द्रको केन्द्रीय सचिव बनेका गंगानारायण श्रेष्ठलाई अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरूले विशेष स्वागत गरेका छन् ।
बैठकमा एकीकरणपछिको सांगठानिक समायोजनबारे पनि छलफल भएको जनाइएको छ । सचिव श्रेष्ठले भने, “आजको बैठकमा पार्टी समायोजनबारे कुराकानी भयो । हाम्रो पक्षबाट निर्णय गर्न केही समय आवश्यक पर्ने भन्दै म समय मागेको छु ।”