• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

शेरा दरबार प्रकरणमा छानबिन मबाटै सुरू होस्: अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबार प्रकरणमा आफू निर्दोष रहेको दाबी गर्दै छानबिन आफैंबाट सुरू गरियोस् भन्ने प्रस्ताव आफूले राखेको बताएका छन्। शनिबार नुवाकोटमा प्रेस सेन्टर नेपालद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आफूलाई नियोजित रूपमा विवादमा तान्ने षड्यन्त्र भइरहेको आरोप लगाए।

प्रचण्डले संसद्मै उभिएर प्रधानमन्त्रीलाई शेरा दरबार प्रकरणको छानबिन तुरुन्त सुरु गर्न आग्रह गरेको स्मरण गराउँदै भने, “मैबाटै छानबिन सुरु होस् भनेको थिएँ, किनकि म संलग्न थिएन। केही पनि थिएन।”

उनले अन्य नेताहरूले भने आफूजस्तै छानबिन आफैंबाट सुरु गर्न नसक्ने टिप्पणी गरे। “अरू नेताहरूले पनि त्यस्तै प्रकरणमा आफूबाटै छानबिन गरौं भनेर देखाउन सकून्,” उनले भने।

त्यस्तै, क्यान्टोनमेन्टसम्बन्धी विषयहरू पनि समय समयमा नियोजित रूपमा उठाइने गरेको उनले उल्लेख गरे। उनले यो विषय शान्ति सम्झौतासँग सम्बन्धित अत्यन्त संवेदनशील मुद्दा भएको भन्दै यसको सम्पूर्ण व्यवस्थापन गिरिजाप्रसाद कोइराला, रामशरण महत र माओवादी तर्फका मन्त्रीहरुले गरिसकेको दाबी गरे।

“सबै हिसाबकिताब स्पष्ट भइसकेको विषयलाई बारम्बार उठाएर माओवादीलाई बदनाम गराउने प्रयास हुन्छ। जब माओवादी पार्टी जनतामा लोकप्रिय हुन थाल्छ, त्यही बेला पुराना मुद्दा झिकेर आलोचना गर्ने प्रवृत्ति देखिन्छ, जसको कुनै औचित्य छैन,” उनले निष्कर्ष निकाले।