
काठमाडौं। संघीय निजामती सेवा विधेयकमा सुधार र संशोधनको माग गर्दै नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनले पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।
युनियनका सचिव झविन्द्र पोखरेलका अनुसार, युनियनको टोली देउवाको बूढानीलकण्ठस्थित निवासमा पुगेर विधेयकका प्रावधानप्रति असहमति जनाउँदै आफ्ना सुझावहरू पेश गरेको हो।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा निजामती सेवा विधेयक पेश हुने कार्यसूची तय भएपछि युनियनले विधेयकमा परिमार्जनको मागसहित कांग्रेस नेतृत्वको ध्यानाकर्षण गराएको हो।
सभापति देउवाले युनियनका नेताहरूसँगको भेटमा निजामती कर्मचारीका सरोकार समेट्ने विषयमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडालाई बोलाएर निर्देशन दिने बताएका थिए। तर विधेयक संसदको कार्यसूचीमा परिसकेकाले अब दलहरूबीच छलफल गरेर ‘फुल हाउस’बाटै सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।
युनियनका प्रमुख मागहरू यस्ता छन्:
-
अतिरिक्त सचिवको कार्यकाल तोक्नुपर्ने।
-
निवृत्तिको उमेर हद ५८ बाट ६० बनाउने क्रममा क्रमशः ६ महिना, १ वर्ष र २ वर्ष गर्दै विस्तार गर्नुपर्ने।
-
अन्तरप्रदेशीय सरुवा एकपटक खुला गरी, भविष्यमा प्रदेशहरूको आवश्यकता अनुसार समावेशी कोटा निर्धारण गरिनुपर्ने।
-
१२ वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई एक श्रेणी बढुवा दिनुपर्ने।
-
उपसचिव तथा सहसचिव पदको परीक्षामा सेवा अवधि साविककै पाँच वर्ष कायम राखिनुपर्ने।
-
संघ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई ‘निजामती कर्मचारी’को परिभाषाभित्र ल्याई, उनीहरूबीच समन्वय कायम गर्नुपर्ने।
कर्मचारी युनियनले समयमै माग सम्बोधन नगरे संशोधित विधेयक प्रभावकारी नहुने चेतावनी दिएको छ।