• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

दरबार हत्याकाण्डको सम्झनामा हिमानी ट्रस्टद्वारा नारायणहिटीमा दीप प्रज्वलन गर्ने

२०५८ सालको जेठ १९ गते भएको दरबार हत्याकाण्डमा ज्यान गुमाएका तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहसहित राजपरिवारका सदस्यहरूको स्मृतिमा हिमानी ट्रस्टले दीप प्रज्वलन कार्यक्रम गर्ने भएको छ। कार्यक्रम यही जेठ १९ गते नारायणहिटी दरबारभित्र रहेको चतुरव्युह नारायण मन्दिर परिसरमा बेलुका ६ः३० बजे हुने ट्रस्टले जनाएको छ।

उक्त हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित शाह वंशका अधिकांश सदस्यको निधन भएको थियो। घटना भएको दुई दशक नाघिसक्दा पनि यसको स्पष्ट र विश्वासिलो छानबिन हुन सकेको छैन। दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहको शासन लामो समय टिक्न सकेन र २०६२/६३ को जनआन्दोलनपछि राजतन्त्रको अन्त्य भयो।

पूर्वराजा ज्ञानेन्द्रका आमा रत्न राज्यलक्ष्मी शाह हाल पनि नारायणहिटी दरबारभित्रको महेन्द्र मन्जिलमा बस्दै आइरहेकी छन्। वयोवृद्ध भएकाले उनलाई दरबार खाली गर्न भनिएको छैन। ज्ञानेन्द्र समयसमयमा आमालाई भेट्न नारायणहिटी जाने गरेका छन्।

हालै जेठ १० गते पूर्वराजा ज्ञानेन्द्र, उनकी श्रीमती कोमल, छोरी प्रेरणा र नाति हृदयन्द्रसहित नारायणहिटी पुगेका थिए। उनीहरुले आमा रत्नलाई भेटेपछि नारायण मन्दिरमा पूजाआजा पनि गरेका थिए, जुन गणतन्त्र स्थापनापछिको पहिलो औपचारिक पूजा मानिएको छ।

तर, अहिले उक्त मन्दिरमा जाने भित्री बाटो बन्द गरिएको छ र संग्रहालय प्रशासनले ढोकामा ताला लगाएको छ। यसकारण हिमानी ट्रस्टका पदाधिकारीहरूलाई सर्वसाधारणले प्रयोग गर्ने ढोका हुँदै मन्दिर पुग्नुपर्ने भएको छ।

ट्रस्टले जारी गरेको सूचनामा दीप प्रज्वलन कार्यक्रममा को–को सहभागी हुने भन्ने उल्लेख छैन। तर, स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत दिवंगत शाही परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्न सबैलाई आह्वान गरिएको छ।

पूर्वराजा ज्ञानेन्द्र दीप प्रज्वलनमा सहभागी हुने भन्ने चर्चा भए पनि यसबारे दरबार स्रोतले पुष्टि गरेको छैन। उनका प्रेस संयोजक फणिराज पाठकले आफूलाई जानकारी नभएको बताएका छन्। पूर्वराजा हाल झापामा रहेको जनाइएको छ।

यसैबीच, राजसंस्थाको पुनर्स्थापनाको मागसहित राजावादी आन्दोलन चर्किएको बेला दरबार परिसरभित्रै आयोजना हुन लागेको यो कार्यक्रमलाई धेरैले राजनीतिक सन्देश बोकेको कार्यक्रमको रूपमा लिएका छन्। ट्रस्टसँग यसबारे प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन नसकेको बताइएको छ।