काठमाडौं । राजसंस्थाको पुनःस्थापनाको माग गर्दै विभिन्न राजावादी समूहले सुरू गरेको संयुक्त आन्दोलनलाई आज पनि निरन्तरता दिइएको छ। आजको जनप्रदर्शन कार्यक्रम नयाँ बानेश्वरको नारायणचौरबाट सुरु भई बालुवाटारतर्फको जुलुससहित अघि बढ्ने योजना तय गरिएको छ।
राप्रपा नेपालका एक पदाधिकारीले नारायणचौरलाई ‘वार्मअप स्थल’ भन्दै मुख्य प्रदर्शन बालुवाटारमै हुने जानकारी दिए। “आज पनि हाम्रो मूल प्रदर्शन बालुवाटारमै केन्द्रित छ,” उनले भने।
प्रदर्शन र निषेधाज्ञाबीचको तनाव
बालुवाटार क्षेत्र निषेधित क्षेत्र भए पनि हिजोको जस्तै आज पनि प्रदर्शनकारीहरू सोही क्षेत्रमा प्रदर्शन गर्ने तयारीमा छन्। हिजोको प्रदर्शनमा निषेधित क्षेत्रको उल्लंघन नभए पनि आज कडाइ गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै राजावादी पक्षबाट चेतावनीसमेत दिइएको छ।
प्रशासन सतर्क, सुरक्षामा कडाइ
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बालुवाटारमा प्रदर्शन गर्न अनुमति नदिइएको बताए। “हामीलाई औपचारिक जानकारी आएको छैन, तर बालुवाटारतर्फ जान सक्ने खबर छ,” उनले भने, “नारायणचौरमा हुने प्रदर्शनको प्रकृति हेरेर आवश्यक निर्णय लिनेछौं।”
सुरक्षा निकायका अनुसार आज राष्ट्रपतिको सवारी पनि हुने भएकाले राजधानीका संवेदनशील क्षेत्र विशेष सतर्कता अपनाइएको छ। बालुवाटार क्षेत्रतर्फको मार्गमा कडाइ गरिने स्रोतले जानकारी दिएको छ, यद्यपि प्रदर्शनकारीलाई निषेधित क्षेत्रमै रोक्ने कि बाहिरी परिधिसम्म जान दिने भन्नेबारे निर्णय खुलेको छैन।