काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरू ‘छाडा हुँदै माओवादीमाथि आक्रमण गर्ने कोसिसमा लागेको’ आरोप लगाएका छन्।
आईतबार काठमाडौँमा आयोजित वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भाडामा मानिस झिकेर रक्सी खुवाएर आन्दोलनमा उफार्ने काम भइरहेको बताए।
‘हामी त उनीहरूको सभा वा प्रदर्शनमा जान्न, आक्रमण गर्न पनि चाहन्नौं,’ प्रचण्डले भने, ‘तर उनीहरू नै आइलाग्छन् भने, इँटको जवाफ पत्थरले दिन तयार हुनुस्। अब त्यस्तो भए सहेर बस्दैनौं।’
उनले शनिबार नुवाकोटमा आयोजित कार्यक्रममा राप्रपाका एक स्थानीय नेता जनार्दन अधिकारीले देखाएको व्यवहारलाई उदाहरण दिँदै यस्तो प्रतिक्रिया दिएका हुन्।
‘म नुवाकोटमा बोल्दै थिएँ, एक जना राजावादी अराजक व्यवहार देखाउँदै बीचमै उफ्रियो,’ उनले भने, ‘राजतन्त्रको पक्षमा कुरा गर्न नपाउँदा आक्रोशित भएको हो।’
उक्त घटनामा अधिकारीमाथि हातपातसमेत भएको थियो। प्रचण्डले राजनीतिक बहसलाई सम्मान गर्ने तर अराजकता र छाडापनको प्रतिकार गरिने स्पष्ट संकेत दिएका छन्।