• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

विद्युत् प्रयोगमा जोड दिँदै पेट्रोलियम निर्भरता घटाउनुपर्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको आवश्यकता स्वदेशमै उत्पादन हुने स्वच्छ विद्युत् प्रयोग गर्नु भएको बताएका छन्। आइतबार सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित ‘वातावरण तथा जलवायु परिवर्तन सरोकार’ विषयक कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

देउवाले पेट्रोलियम पदार्थको प्रयोग घटाएर विद्युतीय विकल्पहरू अपनाउनुपर्नेमा जोड दिए। स्वच्छ ऊर्जा प्रयोगले व्यापार घाटा मात्र कम नगरी मुलुकको समग्र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने उनले स्पष्ट पारे।

उनले भने, “विद्युत् प्रयोग गरेर धेरै काम गर्न सकिन्छ, त्यसैले विद्युतीय सवारीको प्रयोग बढाउनुपर्छ। अन्य विद्युतीय उपकरणहरूको उपयोग पनि आवश्यक छ।”

देउवाले जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न विद्युतीय सवारी तथा उपकरणहरू बढाउनुपर्ने बताए। साथै, विद्यालय र विश्वविद्यालयमा जलवायु शिक्षा समावेश गर्नुपर्ने, बाढी प्रभावित क्षेत्रमा पूर्वसूचना प्रणाली, सुख्खा तराईमा सिँचाइ र पिउन योग्य पानीको व्यवस्था, पहाडमा भूक्षय रोकथाम तथा हिमाली क्षेत्रको संरक्षण र सफाइमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।