गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई कानुनी मान्यता दिएको भन्दै सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलित भएका छन्। उनीहरूले भोलिदेखि आफ्ना गाडी घर र ग्यारेजमा थन्काएर यातायात सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेका छन्।
नेपालका विभिन्न यातायात व्यवसायी र मजदुर संगठनहरू — जसमध्ये सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन — ले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै विरोधस्वरूप सेवा ठप्प पार्ने जानकारी दिएका हुन्।
व्यवसायीहरूका अनुसार गण्डकी प्रदेश सरकारले संविधान र सवारी ऐनको प्रावधानविपरीत निजी सवारीलाई सार्वजनिक सवारीसरह प्रयोग गर्न अनुमति दिँदैछ, जसले उनीहरूको व्यवसायमा गम्भीर असर पारेको छ।
धेरैपटक संघ र प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै अन्ततः आन्दोलनमा जानुपर्ने बाध्यता आएको उनीहरूको दाबी छ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले सुनुवाइ नगरेको कारण २०८२ साल जेठ १९ गतेदेखि आफ्ना सवारीसाधन थन्काएर सेवा बन्द गर्ने निर्णय गरेका छौँ।’ साथै, उनीहरूले सेवा बन्दका कारण यात्रु र अन्य सरोकारवालाहरूलाई पर्न सक्ने असुविधाको जिम्मेवारी सरकार आफैंले लिनुपर्ने पनि स्पष्ट पारेका छन्।