एयर इन्डिया एक्सप्रेसले आइतबारदेखि काठमाडौं र भारतको बैंगलोर सहरबीचको सीधा हवाई सेवा सञ्चालनमा ल्याएको छ। यसमार्फत कम्पनीले नेपालमा आफ्नो सेवा विस्तार गर्दै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्य राखेको छ।
काठमाडौं एयर इन्डिया एक्सप्रेसको लागि नेपालमा पहिलो र समग्र एयर इन्डिया सञ्जालमा १७औं अन्तर्राष्ट्रिय गन्तव्य बनेको छ।
दैनिक सञ्चालन हुने यो सेवा अन्तर्गत बैंगलोरबाट बिहान ८ः०५ बजे उडान भरेर काठमाडौंमा अवतरण गर्नेछ र बिहान ९ः०५ बजे फिर्ता प्रस्थान गर्ने तालिका छ।
कम्पनीका प्रबन्ध निर्देशक आलोक सिंहका अनुसार, नेपालमा सेवा विस्तार गर्नु सांस्कृतिक र आर्थिक सम्बन्धलाई थप गहिरो बनाउने दिशामा महत्त्वपूर्ण कदम हो। उनले भने, “यो नयाँ मार्गले नेपाली र भारतीय जनतालाई अझ नजिक ल्याउनेछ, यात्रालाई सहज र अर्थपूर्ण बनाउने हाम्रो उद्देश्यलाई बल दिनेछ।”
यस उडानमार्गले यात्रुहरूलाई बैंगलोर हुँदै भारतका अन्य प्रमुख सहरहरू—चेन्नई, हैदराबाद, कोच्चि, तिरुवनन्तपुरम, गोवा र तिरुचिरापल्ली—तथा अबु धाबी र दम्ममजस्ता मध्यपूर्वका सहरहरूमा पनि एक–स्टप पहुँच प्रदान गर्नेछ।