• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सांसद शर्माद्वारा मोरङको सुनझोडा खोलामा मोटरेबल पुलको शिलान्यास

मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका–०२ र उर्लाबारी नगरपालिका–०३ लाई जोड्ने सुनझोडा खोलामा बहुप्रतीक्षित दुई लेनको पक्की मोटरेबल पुल निर्माणको शिलान्यास एक भव्य समारोहका बीच सम्पन्न भएको छ। यो पुलले स्थानीयको जनजीवनमा उल्लेख्य सहजता ल्याउने अपेक्षा गरिएको छ।

उक्त पुलको शिलान्यास संघीय सांसद डा. सुनिल शर्मा, पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. १ का सांसद डीगबहादुर लिम्बु, कोशी प्रदेश सांसदहरू गीता तिम्सिना, मानबहादुर लिम्बु र शोभा चेम्जोङले संयुक्त रूपमा गरेका छन्।

कार्यक्रममा बोल्दै कोशी प्रदेशकी माओवादी नेतृ तथा सांसद गीता तिम्सिनाले संघीय सांसद डा. सुनिल शर्माप्रति हार्दिक आभार प्रकट गर्दै भनेकी छन् “संघीय सांसद बन्नु केवल उहाँको मात्र उपलब्धि होइन, हाम्रो गठबन्धनको साझेदारी पनि हो। गठबन्धन टुटेपछि कतै प्रतिबद्धता पनि टुट्ला कि भन्ने आशंका थियो, तर डा. शर्माले त्यो आशंकालाई गलत सावित गर्नुभयो।”

सांसद तिम्सिनाले थपिन्, शर्माले आफ्नो वाचा निभाएको मात्र होइन, मैदानमा जनतासँग गरेको हरेक प्रतिबद्धतालाई कार्यान्वयनमा रूपान्तरण गर्ने साहस देखाएकाले हृदयदेखि आभार प्रकट गर्न चाहेको बताइन्। सम्बोधनका क्रममा शर्माले विगतमा आफूले पनि पुल निर्माणका लागि संघीय सरकारका सम्बन्धित निकायहरूसँग समन्वय गर्दै योजना अघि बढाउन गरेको प्रयास स्मरण गरिन् । डा. शर्माको प्रतिबद्धता र कार्यशैली सबै दलका लागि प्रेरणादायी भएको उनको टिप्पणी थियो।

स्थानीयवासीहरू सुनझोडा खोलामा बन्ने यो पुलले पथरी शनिश्चरे र उर्लाबारी नगरवासीको जनजीवनमा ठूलो सहजता ल्याउने, साथै यातायात, व्यापार तथा जनसहभागिताका दृष्टिले अत्यन्त महत्वपूर्ण हुने विश्वास व्यक्त गर्छन्। यो पुल निर्माणले पूर्वाधार विकासमा टेवा पुर्‍याउनुका साथै सहकार्य, समन्वय र जनप्रतिनिधिको प्रतिबद्धता कस्तो हुनुपर्छ भन्ने उदाहरण पनि पेश गरेको छ।

डा. शर्माका मानवीय कार्य:

उल्लेखनीय छ, डा. सुनिल शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर जारी रहेको छ।

डा. शर्माकै पहलमा नोबेल मेडिकल कलेजमा  निर्वाचन क्षेत्रका स्थानीयहरुका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन समेत स्थापना गरिएको छ। उनले पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन् भने देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। डा. शर्माका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई थप बलियो बनाएको छ