• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

नेपाली कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा सञ्चालनमा

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी रहेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिएकी छिन्।

बैठकमा हालै चर्चामा आएको भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको विपक्षी दलहरूको दबाबबारे छलफल भइरहेको छ।

विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा र घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै जेठ १३ र १४ गतेको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका थिए। उनीहरूले मंगलबार बस्ने प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गर्ने तयारी गरिरहेका छन्। बैठकमा पार्टीका भ्रातृ संस्थाहरूको महाधिवेशनसम्बन्धी विषयमा पनि छलफल हुँदैछ।

निर्धारित समयमै महाधिवेशन गर्न नसकेका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ र नेपाल दलित संघजस्ता चार भ्रातृ संस्थाहरूको तदर्थ समितिको भविष्यबारे निर्णय गर्ने विषय बैठकको एजेन्डामा परेको बताइएको छ। यस्ता संस्थाहरूलाई खारेज गर्नुपर्ने माग पार्टीभित्रैबाट चर्किंदै गएको छ।