रेशम चौधरीद्वारा निलम्बित शाखा अधिकृत विष्टलाई थुनामा राख्न उच्च अदालतमा निवेदन

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन्।

गत वैशाख १७ गते विष्टले चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागारमा राख्न अनुरोध गर्दै प्रहरी र कारागारलाई पत्र लेखेका थिए। सोही पत्रका आधारमा चौधरी पक्राउ परेर करिब ६ घण्टा थुनामा बसेका थिए। तर, उक्त पत्रलाई सर्वोच्च अदालत प्रशासनले ‘अनधिकृत’ भनी संशोधन गरी कारागारमा पठाएपछि विष्ट आफैं कानुनी कठघरामा परे।

यस घटनापछि विष्टविरुद्ध काठमाडौँ जिल्ला प्रहरी परिसरले लिखत किर्तेसम्बन्धी मुद्दा दायर गर्‍यो। त्यसमा जिल्ला अदालत काठमाडौँले जेठ ५ गते उनलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। धरौटीमा छुटेपछि विष्ट सर्वोच्च अदालत पुगेका थिए, जहाँबाट उनलाई निलम्बन गरिएको थियो।

तर, विष्टलाई धरौटीमा छाड्न नहुने माग गर्दै रेशम चौधरीले उच्च अदालतमा निवेदन दिएका छन्। चौधरीका कानुनी प्रतिनिधि अधिवक्ता टेकबहादुर कुँवरका अनुसार उक्त निवेदन हाल दर्ता प्रक्रियामा रहेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१