काठमाडौं। उपत्यका ट्राफिक प्रहरी कार्यालयले पठाओ र इनड्राइभमार्फत सवारी सञ्चालन गरिरहेका १०२ जना चालकलाई कारबाही गरेको छ। सार्वजनिक यातायात बन्दको अवस्थालाई फाइदा उठाएर अत्यधिक भाडा लिने र अफलाइनमा यात्रु ओसार्ने गतिविधिमा संलग्न चालकहरूलाई कारबाही गरिएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दीपक गिरीले ६ जनामाथि अत्यधिक भाडा लिएको आरोपमा कारबाही गरिएको जानकारी दिए। बाँकी ९६ जनालाई भने ‘अन्य’ शीर्षकमा कारबाही गरिएको उनले बताए।
“अफलाइन बसेर यात्रुसँग बार्गेनिङ गर्ने, निर्धारित प्रणालीविपरीत सवारी सञ्चालन गर्ने लगायतका गतिविधिमा संलग्न ९६ जना चालकहरूलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो,” एसपी गिरीले भने।
ट्राफिक प्रहरीका अनुसार राइड सेयरिङ कम्पनीमार्फत सेवा दिँदा अनिवार्य रूपमा अनलाइन सिस्टममा आधारित भएर मात्र यात्रु ओसारपसार गर्न पाइनेछ, अन्यथा नियमनको दायरामा ल्याइने जनाइएको छ।