
‘म झोले हो’ अभियानले नेकपा एमालेभित्र चर्चा पाइरहेका बेला पार्टीका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले भने फरक मत राखेका छन्। शीर्ष नेताहरू– अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले ‘म झोले हो’ पोस्टरसहित तस्बिर सेयर गरिरहेका बेला बाँस्कोटाले यस्ता तस्बिरलाई वेवास्ता गर्दै सामाजिक सञ्जालमार्फत आफूलाई सिधा रूपमा एमाले कार्यकर्ता भनेर चिनाएका छन्।
बाँस्कोटाले एक्समा लेखेका छन्, “ज्यामितिमा केही कुरा स्वयंसिद्ध हुन्छन्, जस्तै दुई विन्दुलाई सीधा रेखाले मात्र जोड्न सकिन्छ, त्रिभुजका कोणहरूको योगफल १८० डिग्री हुन्छ। राजनीतिमा पनि यस्तै छ – म एमाले कार्यकर्ता हुँ। यो मेरो मात्र विश्वास होइन, समाज परिवर्तन गर्ने क्रान्तिकारी सिद्धान्त हो।”
के हो एमालेको ‘म झोले’ अभियान ?
जेठ १५ मा गणतन्त्र उत्सवका दिन एमालेको जुलुस भइरहेका बेला ट्राफिक जाममा परेका सर्वसाधारणले एमाले कार्यकर्तालाई ‘झोले’ भन्दै विरोध गरे । राजावादीहरूको जुलुसमा पनि ‘एमालेको झोले शब्द’ प्रयोग गरियो । सामाजिक सञ्जालमा पनि एमाले नेता तथा कार्यकर्तालाई ‘झोले’ को संज्ञा दिँदै आलोचना हुन थाल्यो । त्यसले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आक्रोशित बनायो । एमालेले सोमबारदेखि ‘म झोले’ भन्ने अभियान नै चलाएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्दै पोस्टर बनाएर एमाले नेता तथा कार्यकर्तामाथि लागेको आरोपको प्रतिवाद गरे । त्यसपछी सुरु भएको हो एमालेको झोले अभियान । अध्यक्ष केपी शर्मा ओली पछी महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायत नेताहरूले पनि ‘म झोले हो’ लेखिएको पोस्टरसहित तस्बिर सार्वजनिक गरेका थिए ।