नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा काण्डमा छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन्। उनले बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै यो प्रकरणबारे सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन आवश्यक भएको बताए।
उक्त प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्ष दललगायत अन्य विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गरिरहेका छन्।
यही विवादका बीच गृहमन्त्रीले एकैदिन अख्तियारमा कार्यरत प्रहरी अधिकारीलाई सरुवा गरी तुरुन्तै फिर्ता गरेको घटनाले झनै शंका उब्जाएको पाण्डेले टिप्पणी गरे।
उनले नागरिक सुशासन चाहिरहेकै बेला सरकारले उल्टै अपारदर्शी र अनुचित गतिविधि गर्दै आएको आरोप लगाए।
त्यसैगरी, प्रमुख सचेतक पाण्डेले सरकारले विधेयकहरूको छिटो टुंगो लगाउनेतर्फ पनि गम्भीर ध्यान नदिएको बताएका छन्।