• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

राप्रपा नेताहरूको पिएसओ फिर्ताबारे गृहमन्त्रीको जबाफ: तपाईंहरूकै आन्दोलनमा खटाउनुपर्ने भएकाले हो

गृहमन्त्री रमेश लेखकले राप्रपा, राप्रपा नेपाललगायत राजसंस्था समर्थक नेताहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू जारि आन्दोलनको सुरक्षाका लागि अस्थायी रूपमा फिर्ता बोलाइएको स्पष्ट पारेका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राप्रपाका सांसद बुद्धिमान तामाङले नेताहरूको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गरिनुको कारणबारे प्रश्न उठाएका थिए।

जवाफमा गृहमन्त्री लेखकले हाल राजसंस्थाको पक्षमा भइरहेको आन्दोलनका क्रममा पर्याप्त सुरक्षा व्यवस्था आवश्यक भएकाले ती सुरक्षाकर्मीहरूलाई त्यसै प्रयोजनका लागि खटाइएको बताएका हुन्। उनले आन्दोलन सकिएपछि ती नेताहरूलाई पुनः सुरक्षा उपलब्ध गराइने आश्वासन पनि दिए।

“हजुरहरूले गर्ने कार्यक्रमहरूमा थप सुरक्षा आवश्यक भएकाले ती सुरक्षाकर्मीहरूलाई त्यहाँ पठाइएको हो। जब अवस्था सामान्य हुन्छ, सुरक्षा फेरि पुरानै रूपमा पुनर्स्थापित गरिन्छ,” गृहमन्त्रीले स्पष्ट पारे।

साथै, गृहमन्त्री लेखकले वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था सुनिश्चित गरिसकेको उल्लेख गर्दै यस व्यवस्थाबाट पछाडि फर्किने कुनै प्रयास मुलुकलाई फेरि अराजकता र अन्धकारतर्फ लैजाने चेतावनी पनि दिए।

उनले भने, “संविधानका मूल मान्यता उल्ट्याउने, गणतन्त्र फाल्ने, संघीयता हटाउने प्रयासले देशलाई संकटमा पार्छ। सरकार यस्ता प्रयासको विरोधमा छ।”

केही दिनअघि सरकारले राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित तीन नेताको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू फिर्ता बोलाएको थियो।