आफ्ना छोरामाथि भ्रष्टाचारको आरोप लागेपछि मंगोलियाका प्रधानमन्त्रीले राजीनामा दिएका छन् । छोरा र उनकी प्रेमिकाको विलासी जीवनशैली झल्काउने तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सर्वसाधारणले सम्पत्तिको स्रोतबारे प्रश्न उठाउन थालेका थिए !
दुई सातायता राजधानी उलानबटारमा प्रधानमन्त्रीको परिवार भ्रष्टाचारमा संलग्न भएको भन्दै विरोध प्रदर्शन भएको थियो । यही प्रदर्शन बढ्दै गएको पृष्ठभूमिमा संसद्मा गोप्य मतदान भएको थियो । ६४ जनाको मत पाउनुपर्नेमा ओयुन एर्डेनले ४४ मत मात्र प्राप्त गरे । नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म उनी कार्यवाहक प्रधानमन्त्रीका रूपमा भने रहनेछन् ।
मंगोलियाका प्रधानमन्त्री लुभ्सान्नामस्राइन ओयुन एर्डेनले संसद्मा विश्वासको मत नपाएपछि पदबाट राजीनामा दिएका छन्।
गत वर्षको आमनिर्वाचनमा ओयुन एर्डेनको मंगोलियन पिपुल्स पार्टी (एमपीपी) ले स्पष्ट बहुमत नल्याएपछि गठबन्धन सरकार बनेको थियो। तर पछिल्ला दिनमा राजधानी उलानबटारमा व्यापक विरोध प्रदर्शन चर्किदै गएको थियो। प्रदर्शनकारीहरूले प्रधानमन्त्रीका परिवारमाथि भ्रष्टाचारको आरोप लगाउँदै विलासी जीवनशैलीको विरोध गरेका थिए।
प्रधानमन्त्रीका छोराले प्रेमिकासँग उच्च स्तरको विलासिता झल्काउने तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि जनआक्रोश भड्किएको हो। ती तस्बिरमा महँगा सामग्री प्रदर्शन गरिएको र स्विमिङ पुलमा रमाइरहेको दृश्य देखिन्छ।
प्रधानमन्त्री कार्यालयले यी आरोपहरू अस्वीकार गरे पनि जनतामा असन्तोष बढ्दै गएको थियो। संसद्मा बोल्दै प्रधानमन्त्री एर्डेनले आफूविरुद्ध कुनै अदृश्य शक्ति समूहले षड्यन्त्रपूर्वक सरकार ढाल्ने प्रयास गरिरहेको दाबी पनि गरेका थिए।