
काठमाडौं । नेपालबाट भिजिट भिसामा विदेश जाने नेपाली नागरिकहरूको संख्या पछिल्ला वर्षहरूमा झन् बढ्दै गएको देखिएको छ।
अध्यागमन विभागको तथ्यांकअनुसार, सन् २०२३ मा मात्रै १ लाख ९१ हजार ९ सय २८ जना नेपाली नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत विभिन्न देश गएका छन्। यो संख्या भारत हुँदै जाने नेपालीहरूलाई नसमेटिएको हो, जसले गर्दा कुल संख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ।
नेपालबाट भिजिट भिसामा विदेश जाने प्रवृत्ति वि.सं. २०६६।६७ पछिदेखि उल्लेख्य रूपमा बढ्न थालेको हो। सन् २०२० मा कोभिड महामारीका कारण केही समयका लागि यात्रा घटेको भए पनि त्यसपछिको वर्षहरूमा पुनः तीव्र गतिमा वृद्धि भएको देखिन्छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विदेशिने नेपालीहरूको संख्या र वास्तविक गन्तव्य देशमा पुगेको नेपालीहरूको तथ्याङ्कबीच ठूलो अन्तर देखिएको छ। यसले अध्यागमन प्रणालीमा त्रुटि मात्र नभई भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको गम्भीर आशंका पैदा गराएको छ।
गृह मन्त्रालय, अध्यागमन विभाग र युनाइटेड अरब इमिरेट्स (यूएई) को आबुधाबीस्थित नेपाली दूतावासबाट प्राप्त तथ्याङ्क अनुसार पछिल्ला तीन वर्ष साढे सात महिनामा ८ लाख १ हजार ६६६ जना नेपाली भिजिट भिसामा विदेश गएका छन्।
२०७८ असोज २४ गतेदेखि २०८२ वैशाखसम्मको अवधिमा भिजिट भिसामा विदेश गएका ती नेपालीहरू विभिन्न गृहमन्त्रीहरूको कार्यकालमा छुट्टाछुट्टै गएका थिए।
सो अवधिमा बालकृष्ण खाणको कार्यकालमा २ लाख ४३ हजार ७५४, रवि लामिछानेको कार्यकालमा १ लाख १६ हजार २१०, नारायणकाजी श्रेष्ठको कार्यकालमा २ लाख १२ हजार ७७७, पुष्पकमल दाहाल ‘प्रचण्ड’को तीनदिने कार्यकालमा २ हजार ५६० र हालका गृहमन्त्री रमेश लेखकको कार्यकालमा २ लाख ३८ हजार १८२ जना नेपाली विदेशिएका छन्।
त्यसबाहेक, अध्यागमन विभागका अनुसार, सन् २०२४ मा मात्रै १६ लाख ७४ हजार २२५ जना नेपाली विभिन्न उद्देश्यले विदेश गएका थिए। तीमध्ये २ लाख ७४ हजार ४२८ जना नेपाली भिजिट भिसामा विश्वका १५० भन्दा बढी देश गएका छन्। त्यसमध्ये, विभागको अभिलेखमा ९९ हजार ८८६ जना मात्र यूएई गएका उल्लेख छ।
तर, यूएईस्थित नेपाली दूतावासले उपलब्ध गराएको सरकारी तथ्याङ्क अनुसार सन् २०२४ मा मात्रै ४ लाख ३७ हजार नेपाली भिजिट भिसामा यूएई पुगेका थिए।
दुवै पक्षको तथ्याङ्कबीच ३ लाख ३७ हजार ११४ को फरक देखिएको छ।
विशेषज्ञहरूका अनुसार नेपालीहरू अध्ययन, पर्यटन, उपचार, व्यवसायिक भ्रमण र वैदेशिक रोजगारीको खोजीमा भिजिट भिसा लिइ विदेश जाने गरेका छन्। तर, भिजिट भिसाको नाममा हुने अनियमितता, मानव तस्करी तथा दुर्व्यवस्थाका कारण यस्ता यात्रामा चुनौतीहरू पनि देखिएको छ।
भिजिट भिसामा नेपालीहरू सबैभन्दा बढी जाने देशहरूमा संयुक्त अरब इमिरेट्स, थाइल्याण्ड, मलेसिया, कतार, साउदी अरेबिया, ओमान, र दक्षिण कोरिया रहेका छन्।
यूएई र खाडी मुलुकहरू रोजगारीको खोजीका लागि प्राथमिक गन्तव्य बन्दै आएका छन् भने थाइल्याण्ड र मलेसिया पर्यटन तथा व्यापारका लागि आकर्षक बनेका छन्।
सरकारी र वैदेशिक रोजगार अनुमतिबिनै भिजिट भिसामा विदेश पुगेका कतिपय नेपालीहरू उतै अलपत्र पर्ने, शोषणमा पर्ने वा अवैधानिक अवस्थामा बस्नुपर्ने अवस्था देखिँदै आएको छ।