
काठमाडौं। भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये २,३७३ जनालाई निलम्बन गरिएको छ। आन्तरिक राजस्व विभागले विगत छ महिनासम्म लगातार मूल्य अभिवृद्धि कर (भीएटी) विवरण नबुझाएका कारण ती करदातालाई निलम्बन गरेको हो।
कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार, कार्यालयमा दर्ता भएका करिब २,४०० करदाताले समयमै विवरण बुझाएका थिएनन्। विभागले २०८२ साल वैशाख ११ गते सार्वजनिक सूचना जारी गरेपछि मात्र २७ जनाले विवरण बुझाएका थिए। बाँकी विवरण नबुझाउने करदातालाई निलम्बन गर्दै उनीहरूको कारोबारसमेत रोक्का गरिएको छ। साथै, उपभोक्तालाई यस्ता संस्थासँग खरिद–बिक्री नगर्न जानकारी गराइएको छ।
विभागले मूल्य अभिवृद्धिकर ऐन, २०५२ को दफा १७ को उपदफा ८ बमोजिम लगातार छ महिनासम्म विवरण नबुझाउने करदाताको नाम सार्वजनिक गर्दै निलम्बन कारबाही गरेको हो। निलम्बनमा परेका करदाताले आफ्नो कारोबार पुनः सञ्चालन गर्न बाँकी विवरण पेस गर्नुपर्नेछ।
चितवनमा मात्रै १० हजारभन्दा बढी मूल्य अभिवृद्धि करदाता छन् भने कुल करदाताको संख्या ७२ हजार नाघेको छ। करदातालाई विवरण बुझाउनुपर्ने जानकारी भए पनि लापरबाही गर्दा विभागले कारबाही गर्नुपरेको कार्यालयका सूचना अधिकारी पौडेलले बताए।
उनले भने, “करदाताले जानकारी नपाएको होइन, कतिपयको कारोबार नै नभएको हुन सक्छ, तर विवरण पेस गर्नुपर्ने कानुनी दायित्वप्रति सबैले सजग हुनुपर्ने बेला आएको छ।” देशभरका ९५,३४९ करदातालाई विभागले निलम्बन गर्दै सार्वजनिक नामावलीसमेत प्रकाशित गरेको छ।