• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

विपक्षी दलहरूको बैठक आज संसद भवनमा, भिजिट भिसा प्रकरण र रणनीतिबारे छलफल हुने

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहितका विपक्षी दलहरूको बैठक आज आइतबार संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्दैछ। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार बैठक मध्याह्नतिर हुने तय भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि समसामयिक राजनीतिक परिस्थिति र प्रतिनिधि सभाको अवरोधबारे छलफल गर्न बैठक बोलाइएको पुष्टि गरेका छन्।

गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहितका विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएका छन्। यस कारण बजेटमाथि हुने छलफलसमेत प्रभावित भएको छ।

यसै सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। भेटमा प्रचण्डले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरूबीच सहमति बनेको जानकारी दिएका थिए।

उनका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बैठकले देउवासँग छलफल गर्ने जिम्मेवारी प्रचण्डलाई दिएको थियो। तर, सभापति देउवाले भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको भन्दै संसदीय विशेष समिति आवश्यक नरहेको धारणा व्यक्त गरेका छन्।

देउवाले प्रस्ताव अस्वीकार गरेपछि विपक्षी दलहरू थप रणनीति तय गर्न बैठकमा जुट्न लागेका हुन्। प्रचण्डले आजको बैठकमा देउवासँगको छलफलबारे जानकारी दिनेछन्। अब विपक्षी दलहरू कसरी अघि बढ्ने भन्नेबारे निर्णय आज संसद भवनमा बस्ने बैठकले लिनेछ।