
काठमाडौं। कोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका गोताखोर सुरज साउदको शव आइतबार बिहान फेला परेको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, साउदको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकैबाट फेला परेको हो। शव कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएको डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा रहेको टोलीले निकालेको हो।
चार दिनदेखि हराइरहेका साउदको शव घटनास्थल नजिकै भेटिएको हो। साउदसँगै हराएका अर्का गोताखोर हरदेव राजवंशीको शव शुक्रबार फेला परेको थियो। राजवंशीको शव घटनास्थलदेखि करिब ३ किलोमिटर दक्षिणमा भेटिएको थियो।
दुबै जना सशस्त्र प्रहरीका गोताखोर बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा आयोजित प्रदेशस्तरीय मनसुन पूर्वतयारी सेमुलेशन अभ्यासका क्रममा बेपत्ता भएका थिए।
सुरज साउदले २०८० सालमा र हरदेव राजवंशीले २०८१ सालमा गोताखोर तालिम सम्पन्न गरेका थिए। तालिमपश्चात् उनीहरू विभिन्न उद्धार कार्यमा सक्रिय रूपमा खटिँदै आएका थिए।
बेपत्ता भएपछि खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपीको कमाण्डमा ४ जना गोताखोरसहित ३५ जना र नं. ६ गण सप्तरीबाट विपद् व्यवस्थापन तालिम प्राप्त २० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो।
थप खोजी र उद्धार कार्यलाई तीव्रता दिन सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट अनुभवी प्रशिक्षक डिएसपी भण्डारीको नेतृत्वमा ५ जना गोताखोरलाई बिहीबार राति नै घटनास्थलतर्फ खटाइएको थियो।