काठमाडौं । घरजग्गा खरिद–बिक्रीमा अनिवार्य विवरण र भुक्तानी प्रणाली सम्बन्धी प्रावधान संशोधनपहिले लागू गरिएको प्रावधानअनुसार, घरजग्गा खरिद वा बिक्री गर्दा एक दिनमा एकपटक वा पटक–पटक गरी ३ करोड रुपैयाँ वा सोभन्दा बढी रकमको कारोबार भएमा त्यसको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा अनिवार्य रूपमा पठाउनुपर्ने व्यवस्था थियो।
अब उक्त सीमा घटाएर १ करोड रुपैयाँमा झारिएको छ, जसअनुसार अब १ करोड वा सोभन्दा बढीको घरजग्गा कारोबार भएमा विवरण पठाउनु पर्नेछ।यससँगै, १० लाखदेखि ५० लाख रुपैयाँसम्मको कारोबार अनिवार्य रूपमा बैंकिङ वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने प्रावधानमा पनि लचकता अपनाइएको छ।
पहिले ५० लाख रुपैयाँभन्दा बढीको कारोबार केवल विद्युतीय भुक्तानी प्रणाली वा विक्रीकर्ताको नाममा जारी गरिएको गुड फर पेमेन्ट चेकमार्फत मात्र गर्नुपर्ने व्यवस्था थियो। तर, संशोधित प्रावधानअनुसार अब १० लाख रुपैयाँभन्दा माथिको जुनसुकै प्रकारको भुक्तानी बैंकिङ माध्यम प्रयोग गरी गरिएको प्रमाण आवश्यक हुनेछ।
५० लाख रुपैयाँभन्दा बढीको कारोबारको हकमा, क्रेताले निम्नमध्ये कुनै एक माध्यममार्फत भुक्तानी गरेको प्रमाण पेश गर्नुपर्नेछ:
गुड फर पेमेन्ट चेक
बैंक ग्यारेन्टी
ई–पेमेन्ट
नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार तोकिएका अन्य बैंकिङ उपकरण
वा नगद रूपमा विक्रेताको खातामा जम्मा गरिएको बैंक भौचरको प्रमाण (फोटोकपीसहित)
यी दस्तावेजहरू खरिदकर्ता र बिक्रीकर्ताले दुबैले प्रमाणित गरी पेश गर्नुपर्नेछ।
