सुनचाँदी व्यवसायी र कालिगढ संघर्ष समितिको विरोध प्रदर्शन

काठमाडौं।  सुनचाँदी व्यवसायी र कालिगढ संघर्ष समितिले आइतबार काठमाडौंको न्यूरोड क्षेत्रमा विरोध प्रदर्शन गरेका छन्।

सरकारले आगामी बजेटमा सुनका गहनामा २ प्रतिशत विलासी कर र हिराका गहनालाई भ्याट प्रणालीमा ल्याउने घोषणा गरेपछि व्यवसायीहरू विरोधमा उत्रिएका हुन्।

विरोध प्रदर्शनमा सहभागी व्यवसायीहरूले विभिन्न प्लेकार्ड र कालो व्यानर बोकेर न्यूरोड गेटदेखि बसन्तपुर डबलीसम्म र्यालीसहित प्रदर्शन गरेका थिए।सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले २०८२/८३ को बजेटका कतिपय प्रावधानले सुनचाँदी व्यवसायीलाई गम्भीर असर पुर्याएको बताए।

उनले सुनका गहना र रत्नहरूमाथि लगाइएको करको विरोध गर्दै भने, “सुनका गहना मापदण्डको आधारमा लगाइएको विलासिता कर खारेजी गरिनु पर्छ। साथै, पत्थर र रत्नमाथि १३ प्रतिशत कर लगाउनु पनि गलत हो, यो खारेज गर्नुपर्नेछ।”

उनले थपे, “व्यवसायिक ऐनका लागि हामीले वर्षौंदेखि सरकारलाई ध्यानाकर्षण गराउँदै आएका थियौँ, तर कुनै सुनुवाइ भएन। यो बजेटका प्रावधानहरू व्यवसाय गर्न असम्भव बनाएका छन्। अब हामी सबै व्यवसायीहरू मिलेर सशक्त रूपमा अगाडि बढ्ने योजना बनाउन लागेको छौं।” यसैबीच, उनीहरूले उपभोक्ता, कर्मचारी, कालिगढ र व्यवसायीमैत्री ऐन जारी गर्न पनि सरकारसँग माग गरेका छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१