
काठमाडौं। विश्व वातावरण दिवसको अवसर पारेर ग्लोबल आइएमई बैंक लिमिटेडले वातावरण संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यले एकदिने फोहोर संकलन तथा हाइकिङ कार्यक्रम आयोजना गरेको छ। कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको हाइकिङमार्फत करिब १५० केजी प्लास्टिक फोहोर संकलन गरिएको हो।
कार्यक्रमको क्रममा हाइकिङ रुटका विभिन्न स्थानहरूमा स्थानीय समुदायले उत्पादन गरेका बाँसको डोका (डस्टबिन) राखिएको छ, जसले दीर्घकालीन रूपमा फोहोर व्यवस्थापनमा टेवा पुर्याउने विश्वास लिइएको छ। संकलित फोहोरलाई कीर्तिपुर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा सुरक्षित रूपमा हस्तान्तरण गरिएको छ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत श्री सुमन पोखरेल, कीर्तिपुर नगरपालिकाका प्रतिनिधिहरू, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी, बैंकका कर्मचारी तथा स्थानीय स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता थियो।
बैंकले वातावरण संरक्षणलाई प्राथमिकता दिँदै विश्व वातावरण दिवसको सन्दर्भमा देशभर वृहत वृक्षारोपण अभियान पनि सञ्चालन गरेको छ। आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षारोपण गर्ने लक्ष्यसहित मुलुकभर विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रमहरू सम्पन्न भएका छन्। यस अभियानबाट वातावरण संरक्षणका साथै जलवायु परिवर्तन न्यूनीकरण र स्थानीय समुदायको आय–आर्जनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ।
ग्लोबल आइएमई बैंकले बैंकिङ सेवाका अतिरिक्त स्वदेशी उत्पादनको प्रवर्द्धन, जलवायु विषयमा सचेतना अभिवृद्धि, र दिगो विकासमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। बैंक हालै ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ र युरोमनी ‘अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत नेपालका लागि सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ।