अमेरिकाको सपना बोकेर गएका नेपाली बोरा बोकेर फर्किए

अमेरिकाको चम्किलो सपना देखेर घर छाडेका ३७ नेपाली आइतबार मध्यरात त्रिभुवन विमानस्थलमा ओर्लिए, कोहीका हातमा बोरा थिए भने, कोहीका भने हात रित्तै थियो। अमेरिका सरकारले अध्यागमन नियम उल्लंघन गरेको र अवैध रुपमा अमेरिका वसोबास गरेको भन्दै उनीहरूलाई चार्टर्ड विमानमार्फत डिपोर्ट गरेको हो। डिपोर्ट गरिएकामध्ये ३२ पुरुष र ५ महिला छन्।

कतिपय भिसा अवधि नाघेर बसे, कोही अवैधानिक प्रवेशमा परे। राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर आप्रवासी नीतिपछि यस्ता कारबाही पछिल्लो समय बढ्दै गएको हो। हातमा बोरा, आँखामा गुमेको सपना बोकेर फर्किएका यी नेपाली अपराधी पक्कै होइनन्, उनीहरू त आफ्नो भाग्य बदल्न खोजेका आम नेपाली हुन्।

देश फर्किएपछि उनीहरूको जीवन फेरि शून्यबाट सुरु हुनेछ। यो घटनाले गम्भीर प्रश्न उठाउँछ—किन हाम्रो देशले आफ्ना नागरिकलाई स्वदेशमै सम्भावना देखाउन सकिरहेको छैन? यदि यही अवस्था रहिरह्यो भने, ‘बोरा बोकेर फर्किने’ कथाहरू फेरि दोहोरिनेछन्।

सन् २०२५ को जनवरीदेखि मे महिनासम्म अमेरिकाले १४० जना नेपालीलाई डिपोर्ट गरिसकेको छ। अध्यागमन विभागको तथ्यांक अनुसार जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिका फर्काइएका छन्।
अमेरिकाबाट नेपालीहरुको डिपोर्ट हुने क्रम ट्रम्पको पहिलो कार्यकाल वा त्यसअघिबाटै जारी रहेको छ। सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिका बाट डिपोर्ट भएका थिए।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१