जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठकमा देखिएको गतिरोध हटाउने प्रयासस्वरूप सत्तारूढ नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच नयाँ बानेश्वरस्थित संसद् भवनमा छलफल जारी छ। कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे सहभागी छन् भने रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र प्रमुख सचेतक सन्तोष परियार सहभागी छन्।
प्रतिपक्षी दलहरूको छुट्टै बैठकपछि यी दुई दलबीचको छलफल सुरु भएको हो। प्रतिपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिएका छन्। तर कांग्रेसले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक छानबिन सकेपछि अध्यागमन सम्बन्धी कार्यविधिबारे आवश्यक सुधार र सुझाव दिन समिति बनाउन सकिने प्रस्ताव गरेको छ। यही बुँदामा सहमति जुट्न सकेको छैन।
रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्यालले कांग्रेससँग संसद् गतिरोध अन्त्य गर्न वार्ता भइरहेको पुष्टि गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजिट भिसा सेटिङ प्रकरणका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध हुँदै आएको हो।
कांग्रेसले उक्त प्रकरणमा अख्तियारको छानबिनलाई सहयोग गर्ने र त्यसपछि देखिएका समस्याहरू समाधान तथा सुधार गर्न संरचनागत र कानुनी सुधारका लागि सिफारिस गर्न समिति बनाउने प्रस्ताव राखेको छ। तर, प्रतिपक्षीहरू यो प्रस्तावमा सहमत हुन सकेका छैनन्। बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ