नेपाल विद्युत् प्राधिकरणले असार १ गते (जुन १५) देखि बङ्गलादेशलाई ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। यो विद्युत् भारतको प्रसारण लाइन प्रयोग गरी पठाइँदैछ। अघिल्लो वर्ष कात्तिक १८ गते एकपटक १२ घण्टाका लागि विद्युत् निर्यात गरिएको थियो भने यसपटक पाँच महिनासम्म नियमित रूपमा निर्यात गरिनेछ।
बङ्गलादेश, भारत र नेपालबीच भएको त्रिपक्षीय सम्झौताअनुसार त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बङ्गलादेश पठाइँदैछ। यो विद्युत् ढल्केबर सबस्टेशनबाट भारतको मुजफ्फरपुर र बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेशनमा पुग्नेछ। पाँच महिनामा १४ करोड ६८ लाख युनिट विद्युत् निर्यात हुने र सरकारले यसबाट १ अर्ब २९ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान छ। बिक्रीदर प्रतियुनिट ६.४ अमेरिकी सेन्ट रहेको छ।
ऊर्जा मन्त्री दीपक खड्काले वर्षायाममा उत्पादन भएको अतिरिक्त विद्युत् छिमेकी मुलुकहरूलाई बेच्न पाउनु नेपालका लागि गर्वको कुरा भएको बताएका छन्। ऊर्जा निर्यातले आयात घटाउन, जलविद्युत्को अधिकतम प्रयोग गर्न र आर्थिक समृद्धिमा योगदान पुग्ने विश्वास गरिएको छ। सरकारको योजना अनुसार सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य छ।
यससँगै, नेपालले भारततर्फ पनि विद्युत् निर्यातलाई निरन्तरता दिएको छ। हाल नेपालले भारतको हरियाणा राज्यमा २०० मेगावाट र बिहार राज्यमा ८० मेगावाट विद्युत् पठाइरहेको छ। भारतसँगको सम्झौताअनुसार विद्युत्को दर प्रतियुनिट ५.२५ भारतीय रुपैयाँ रहेको छ।
वर्षायाममा उत्पादन बढेपछि नेपालले आन्तरिक माग पुरा गरी बाँकी विद्युत् भारत र बङ्गलादेशमा निर्यात गरिरहेको हो