काठमाडौँ — दरबारमार्गस्थित हार्ड रक क्याफे काठमाडौंले आफ्नो ५४ औं वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ। शनिवार आयोजित कार्यक्रममा क्याफेले नेपाली स्वादमा आधारित ‘छोयला बर्गर’ सार्वजनिक गर्दै जन्मोत्सव मनाएको हो।
हार्ड रक क्याफेले विश्वभरका १७० भन्दा बढी शाखामा एकै दिन ५४ औं वार्षिकोत्सव मनाएका छन्। काठमाडौं शाखाले पनि यो अवसर पारेर नयाँ बर्गरको लञ्च कार्यक्रम गरेको हो।
क्याफेका महाप्रबन्धक नारायणप्रसाद सुवेदीका अनुसार, प्रत्येक देश वा शहरमा स्थानीय स्वाद अनुसार विशेष बर्गर तयार पार्ने परम्पराअनुसार काठमाडौंमा छोयला बर्गर प्रस्तुत गरिएको हो। यो बर्गर क्याफेका सेफ विप्लव महर्जनले तयार पारेका हुन्।
सुवेदीका अनुसार, अघिल्लो वर्ष पनि काठमाडौँ शाखाले आफ्नै शैलीमा बर्गर सार्वजनिक गरेको थियो, जुन विश्वभर उत्कृष्ट पाँच बर्गरमध्ये एक ठहरिएको थियो। उनले भने, “हामी खानाको माध्यमबाट मात्र नभई नेपालको पर्यटन प्रवर्द्धनमा पनि योगदान दिइरहेका छौं।”
हार्ड रक क्याफे काठमाडौंमा सुभिनियर पसल पनि छ, जहाँ टी-शर्ट, मग र ग्लास उपलब्ध छन्। हाल पाटनमा सुभिनियर सप सञ्चालनमा छ भने ठमेलमा नयाँ पसल खोल्ने तयारी भइरहेको जानकारी सुवेदीले दिए।
सुवेदीले हार्ड रक क्याफे पोखरामा पनि विस्तार गरिँदै गरेको उल्लेख गरे। क्याफेमा विशेष गरी शुक्रबार र शनिबार सांगीतिक कार्यक्रमहरू पनि हुने गरेका छन्।
उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार क्याफेले खानाको सेवा प्रदान गर्दै आएको बताए र शुक्रवार तथा शनिवार विशेष भीड लाग्ने जानकारी समेत दिए।
कार्यक्रममा डेनमार्कका मानार्थ वाणिज्यदूत हरि धरेल र सेफ गोविन्द नरसिंह केसीको उपस्थिति रहेको थियो। हार्ड रक क्याफे काठमाडौंको सुरुवात सन् २०२१ को नोभेम्बरमा भएको हो।