
भारतीय पक्षले नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुलको बाटो बन्द गरेको छ । महाकाली पुलको बाटो बन्द भएपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुला आउ–जाउ बन्द भएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार, धारचुलामा भएको एक भारतीय नागरिकको हत्या घटनामा संलग्न व्यक्तिहरू नेपाल प्रवेश गरेको आशंकामा भारततर्फका स्थानीयले दबाब स्वरूप पुल बन्द गरेका हुन्।
उनले भने, ‘धारचुलामा भएको हत्या प्रकरणमा दुई जना अभियुक्त नेपाल आएका भन्ने पुष्टि नभएको सूचना आएको छ। हामी पनि खोजीमा छौं तर अहिलेसम्म भेटिएका छैनन्। भारतीय अधिकारीहरूले हत्या घटनामा संलग्नलाई कारबाही गर्न दबाब दिन स्थानीयले सडक बन्द गरेका जानकारी दिएका छन्।’
पौडेलका अनुसार, पुल भारत सरकारको आधिकारिक निर्देशनमा नभई स्थानीय भारतीय नागरिकहरूको दबाबस्वरूप बन्द गरिएको बुझिएको छ।
भारतको धारचुलाका जिल्ला अधिकारी (डिएम) सँग पुल पुनः सञ्चालनको पहलमा संवाद भइरहेको पनि उनले जनाए।
भारतीयहरू आज बिहान ११ बजेदेखि विरोध प्रदर्शनमा उत्रेका थिए, जसका कारण पुल बन्द भएको हो। दिउँसो केहीबेर पुल खुलेको भए पनि फेरि बन्द गरिएको जनाइएको छ।
गत जुन ७ मा धारचुलाका कमलेश दानुको छुरा प्रहारबाट हत्या भएको थियो। उक्त घटनामा संलग्नलाई पक्राउ गर्न माग गर्दै अनुवाल समुदायका अध्यक्ष गुमान सिंह विष्टको नेतृत्वमा पिथौरागढका उपजिल्ला अधिकारी मनजित सिंहलाई ज्ञापनपत्र बुझाइएको थियो। साथै, धारचुला बन्दसँगै नेपाल–भारत सीमामा पर्ने महाकाली पुल पनि बन्द गर्ने चेतावनी दिइएको थियो।