तीनकुने घटना : ८० दिनपछि अस्पतालबाट घर फर्किइन् रेबिका, अझै विश्राममै

काठमाडौँ । चैत १५ गते राजावादी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएकी उदयपुरको चौदण्डीगढी–६ की रेबिका खत्री ८० औँ दिनमा डिस्चार्ज भएकी छन् । खत्रीलाई सोमबार साँझ टिचिङ शिक्षण अस्पतालले डिस्चार्ज गरेको रेबिकाकी दिदी अनिताले जानकारी दिइन् ।

तीनकुनेस्थित कोटेश्वर क्याम्पसमा बीबीएस तेस्रो वर्षमा पढिरहेकी खत्रीलाई कोटेश्वरस्थित भाटभटेनी विपरीत बाटोमा प्रहरीले चलाएको गोली लागेको थियो । उनलाई सोही दिन बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । सिभिलले गत जेठ ११ गते टिचिङमा रेफर गरेको थियो ।

रेबिकालाई अस्पतालले डिस्चार्ज गरेकोमा अझैं हिँड्न भने नसक्ने र बेड रेस्टमै रहेको दिदी अनिताले जानकारी दिइन् । उनकाअनुसार अस्पतालको बिल सरकारले ब्यहोरेकोमा उपचारका क्रममा भएको अन्य खर्च भने राज्यले अझैं भुक्तान गरेको छैन । ’अस्पतालको बिल सरकारले ब्यहोर्ने भयो ।

अन्य खर्च करिब ९ लाख भन्दा बढी भएकोमा त्यो भुक्तान भएको छैन,’ उनले भनिन् ।प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डीआईजीपी) दिनेश आचार्यले भाटभटेनीमा ठूलो लुटपाटको घटना भएको र प्रदर्शनकारीले नजिकै रहेको गाडी जलाउन थालेपछि त्यसलाई रोक्न प्रहरीले चलाएको गोली रेबिका र उनका दाइ दिनेशलाई लागेको बताएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१